फरार भएका ६ जना पक्राउ
बनेपा। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मुद्दामा अदालतबाट सजाय सुनाइएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको संयुक्त टोलीले विभिन्न समयमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये चोरी, अभद्र व्यवहार, लागुऔषध तथा वैदेशिक रोजगारीसम्बन्धी कसुरका मुद्दामा सजाय तोकिएका व्यक्तिहरू रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जनालाई अभद्र व्यवहार मुद्दामा २६ दिन, दुई जनालाई चोरी मुद्दामा क्रमशः ५ महिना ५ दिन र ५ महिना ३ दिन, एक जनालाई लागुऔषध मुद्दामा २ महिना ४ दिन तथा एक जनालाई वैदेशिक रोजगारीसम्बन्धी कसुरमा २ वर्ष कैद सजाय तोकिएको थियो। अर्का एक प्रतिवादी पनि अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार पक्राउ परेका सबैलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद थप गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कुल ३ वर्ष ६ महिना ७ दिन कैद तथा ८ लाख १२ हजार रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको छ। फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।
