`

डलरसहित डाक्टर पक्राउ

Nepal One HD १९ जेठ २०८३ १३:०८
अपराध

काठमाडौं। गैरकानुनी रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सञ्चय तथा कारोबार गरेको र डिजिटल माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले २९ वर्षीय डा. पप्पुकुमार यादवलाई पक्राउ गरेको छ।

प्रहरीले उनको साथबाट ३० हजार अमेरिकी डलर र १७ थान मोबाइल बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धनुषाको हंसपुर नगरपालिका–४ स्थायी घर भएका डा. यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा उनले अवैध क्रिप्टोकरेन्सी कारोबारसम्बन्धी नेटवर्क सञ्चालन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार डा. यादवले मोबाइल तथा अन्य विद्युतीय उपकरणमार्फत नेपालमा प्रतिबन्धित मानिएका ‘बाइनान्स’ र ‘बाइविट’ जस्ता एप प्रयोग गरेर क्रिप्टोकरेन्सीको अवैध सञ्चय तथा कारोबार गरिरहेको भेटिएको हो।

भरतपुरस्थित एक अस्पतालमा कार्यरत रहेका यादवले डिजिटल माध्यमबाट ठगीसमेत गरेको आशंकामा अनुसन्धान भइरहेको छ।

हालसम्म उनले कति व्यक्तिसँग कति रकमको कारोबार वा ठगी गरेका हुन् भन्ने विषयमा थप तथ्यहरू खुल्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले बताएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *