`

भाजपा अध्यक्ष नवीनसँग रविको भेटवार्ता, के भयो कुरा ?

Nepal One HD १९ जेठ २०८३ १८:०५
प्रमुख खबर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नितिन नवीनबीच राजनीतिमा ‘जेन-जेड’ पुस्ताको बढ्दो भूमिका र सम्भावनाबारे छलफल भएको छ।

मंगलबार भारतीय जनता पार्टीको मुख्यालयमा भएको भेटवार्तामा लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकाबारे विचार आदानप्रदान भएको जनाइएको छ।

भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा अध्यक्ष नवीनसहित पार्टीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गरेको हो।

भेटका क्रममा अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरमा आधारित भारत-नेपाल सम्बन्धको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गरेका थिए। उनले यस्ता संवादले लोकतान्त्रिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै दुई दलबीचको सहकार्यलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने बताए।

नवीनले भाजपा पार्टीको यात्रा, विचारधारा, संगठनात्मक संरचना तथा जनमुखी राजनीतिक सहभागितासम्बन्धी दृष्टिकोणबारे पनि जानकारी गराएका थिए।

भेटवार्ताका क्रममा रास्वपा प्रतिनिधिमण्डलले भाजपा सदस्यता प्रक्रिया, उम्मेदवार छनोट प्रणाली तथा तल्लो तहका कार्यकर्तासँग सम्पर्क विस्तार गर्ने संयन्त्रबारे चासो व्यक्त गरेको थियो। साथै अध्यक्ष नवीनले नरेन्द्र मोदी नेतृत्वको विकासमुखी सुशासन मोडेलबारे चर्चा गर्दै विकास, सेवा, सुशासन र कल्याणकारी कार्यक्रमहरू सरकारको प्राथमिकतामा रहेको बताएका थिए।

उक्त भेटमा भाजपा राष्ट्रिय महामन्त्री अरुण सिंह, सांसद सञ्जय जयसवाल, सांसद बाँसुरी स्वराज तथा भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले समेत सहभागी थिए।

रास्वपा प्रतिनिधिमण्डलले भाजपा मुख्यालयस्थित मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो। भेटपछिको दिवाभोज कार्यक्रममा रेखा गुप्तालगायत नेताहरूको सहभागिता रहेको बताइएको छ।

भाजपाको निमन्त्रणामा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल पाँचदिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुगेको हो। प्रतिनिधिमण्डलमा निकिता पौडेल, सांसद विपिनकुमार आचार्य, सांसद दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *