५ किलो गाँजा र १४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित चार जना पक्राउ
झापा। नेपाली प्रहरीले झापाका विभिन्न स्थानबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका-४ स्थित एक घरमा छापा मार्दा ५ किलो ९० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी सुमन बानियाँले जानकारी दिए ।
सोही घटनासँग सम्बन्धित आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका-७ का ३० वर्षीय विनोद मगर र भोजपुरको हतुवागढी गाउँपालिका–४ का करिब २० वर्षीय सागर राईलाई पक्राउ गरेको छ ।
यसैबीच, झापा गाउँपालिका–४ टाघनडुब्बा क्षेत्रबाट पनि ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिमाथि शंका लागेपछि खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा दमक नगरपालिका–१० का ३२ वर्षीय सुरज रायको साथबाट ६ ग्राम १ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
त्यसैगरी, मोरङको विराटनगर महानगरपालिका–३ का ४२ वर्षीय बाबुराम दर्जीको साथबाट ८ ग्राम ७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
