`

अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि

Nepal One HD २० जेठ २०८३ २०:१०
विश्व

अष्ट्रेलियामा विद्युतीय सवारीसाधनको बिक्री मे महिनामा हालसम्मकै उच्च स्तरमा पुगेको छ ।अष्ट्रेलियाको मोटर उद्योग महासंघले बुधबार सार्वजनिक गरेको मासिक बिक्री तथ्यांकअनुसार मे महिनामा नयाँ बिक्री भएका सवारीसाधनमध्ये ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनको हिस्सा २० प्रतिशत पुगेको छ । यो अप्रिलमा कायम भएको १६.४ प्रतिशतको अघिल्लो कीर्तिमानभन्दा बढी हो ।

हाइब्रिड र बाह्य चार्ज गर्न मिल्ने हाइब्रिड सवारीसाधनलाई समेत समावेश गर्दा, मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ४६ प्रतिशत विद्युतीकृत सवारीसाधन रहेका महासंघले जनाएको छ ।

महासंघका प्रमुख कार्यकारी अधिकृत टोनी वेबरले विद्युतीकृत सवारीसाधनतर्फको परिवर्तन विशेषगरी बहुउपयोगी सवारी क्षेत्रमा स्पष्ट देखिएको बताउनुभयो । उहाँका अनुसार, एक वर्षअघिको तुलनामा मे महिनामा विद्युतीय बहुउपयोगी सवारीको बिक्री १६७ प्रतिशतले वृद्धि भएको छ भने बाह्य चार्ज गर्न मिल्ने हाइब्रिड बहुउपयोगी सवारीको बिक्री ३७७ प्रतिशतले बढेको छ । यसैबीच पेट्रोलबाट चल्ने बहुउपयोगी सवारीको बिक्री भने ३१ प्रतिशतले घटेको छ ।

चिनियाँ सवारी निर्माता कम्पनीले मे महिनामा अष्ट्रेलियामा ८ हजार २११ वटा नयाँ सवारीसाधन बिक्री गरेको छ, जुन सन् २०२५ को सोही अवधिको तुलनामा १५५ प्रतिशत बढी हो ।

मे महिनाको अन्त्यसम्ममा तीन प्रमुख चिनियाँ सवारी निर्माता कम्पनीहरूले अष्ट्रेलियामा कुल ७८ हजार १६८ वटा नयाँ सवारीसाधन बिक्री गरेका छन्। गत वर्षको सोही अवधिमा यो संख्या ४६ हजार ०२३ थियो ।

यद्यपि, टोयोटा अझै पनि अष्ट्रेलियाको सबैभन्दा ठूलो सवारी निर्माता बनेको छ । तर कम्पनीको बिक्री सन् २०२५ को पहिलो पाँच महिनामा भएको १ लाख ७५३ बाट घटेर सन् २०२६ को सोही अवधिमा ७६ हजार ०१७ मा झरेको छ ।

विश्लेषकहरूका अनुसार अष्ट्रेलियामा विद्युतीय तथा अन्य विद्युतीकृत सवारीसाधनप्रति उपभोक्ताको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ, जसले देशको अटोमोबाइल बजारमा महत्वपूर्ण परिवर्तनको सङ्केत दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *