`

पुन: विश्व च्याम्पियन बन्ने लक्ष्यमा ब्राजिल

Nepal One HD २२ जेठ २०८३ ११:२२
खेलकुद

विश्व फुटबलको इतिहासमा सबैभन्दा सफल टोली मानिने ब्राजिल आगामी फिफा विश्वकप २०२६  मा छैटौं उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रँदै छ।

सन् २००२ पछि विश्वकप जित्न नसकेको ब्राजिल यसपटक इटालियन प्रशिक्षक कार्लो एन्सेलोटी को नेतृत्वमा नयाँ रणनीति र सन्तुलित टोलीसहित प्रतियोगितामा सहभागी हुँदैछ। नेयामारको पुनरागमन, भिनिसियस जुनियर, राफिनहा , क्यासीमिरो र एलिसन बेकर जस्ता अनुभवी खेलाडीसँगै युवा प्रतिभाहरूको उपस्थितिले ब्राजिललाई उपाधिको प्रमुख दाबेदार बनाएको छ।

ब्राजिलको २६ सदस्यीय टोलीमा गोलकिपरतर्फ एलिसन, एडर्सन र वेभर्टन रहेका छन्। रक्षापंक्तिमा मार्किन्होस, गाब्रियल मगलाएस, ब्रेमर, डानिलो र एलेक्स सान्द्रो जस्ता खेलाडी छन् भने मिडफिल्डमा कासेमिरो, ब्रुनो गिमारेस, फाबिन्हो र लुकास पाक्वेटाले जिम्मेवारी सम्हाल्नेछन्। आक्रमण पंक्तिमा नेयमार, भिनिसियस जुनियर, राफिन्हा, एन्ड्रिक, गाब्रियल मार्टिनेली र माथेउस कुन्हाजस्ता स्टार खेलाडी रहेका छन्।

समूह ‘सी’ मा रहेको ब्राजिलले आफ्नो विश्वकप यात्रा जुन १३ मा न्यूयोर्क–न्यु जर्सी स्टेडियममा मोरक्कोविरुद्धको खेलबाट सुरु गर्नेछ। त्यसपछि जुन १९ मा फिलाडेल्फिया स्टेडियममा हाइटीसँग र जुन २४ मा मियामी स्टेडियममा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा ब्राजिलले उत्तर अमेरिकी मौसम, फरक खेल मैदान तथा कडा प्रतिस्पर्धाबीच आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती सामना गर्नेछ। 

यद्यपि अनुभवी नेतृत्व, बलियो आक्रमण र विश्वस्तरीय प्रतिभाका कारण ब्राजिललाई यसपटक पनि उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ। फुटबल प्रेमीहरू ब्राजिलले २४ वर्ष लामो विश्वकप खडेरी अन्त्य गर्दै पुनः विश्व फुटबलको शिखरमा पुग्ने अपेक्षामा छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *