`

कांग्रेस सांसद अर्जुननरसिंह केसी किन देखिँदैछन् सत्ताअनुकूल ?

Nepal One HD २२ जेठ २०८३ ११:५१
नेपाली कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका ज्येष्ठ सांसद अर्जुननरसिंह केसीको पछिल्लो संसदीय भूमिका र अभिव्यक्तिमाथि कांग्रेसभित्रै प्रश्न उठ्न थालेको छ ।

संसदमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई जवाफदेही बनाउन विपक्षी दलहरू आक्रामक रूपमा प्रस्तुत भइरहेका बेला केसीले भने बारम्बार सत्तापक्षलाई अनुकूल हुने अभिव्यक्ति दिएको भन्दै आलोचना बढेको हो ।

यही १७ जेठमा प्रधानमन्त्री शाहसँगको प्रश्नोत्तर कार्यक्रमलाई लिएर प्रतिनिधिसभामा विवाद चर्किएका बेला केसीले प्रधानमन्त्रीको प्रशंसा गर्दै प्रश्न सोधेको घटनाले कांग्रेसभित्र उनको आलोचना भइरहेको छ ।

विपक्षी दलहरू कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले प्रतिनिधिसभा नियमावलीको मर्मविपरीत प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिएको भन्दै बहिष्कार गर्ने तयारी गरिरहेका बेला केसीले हात उठाएर प्रश्न सोधेका थिए ।

प्रधानमन्त्री संसदमा उपस्थित हुनु सकारात्मक भएको भन्दै उनले रोष्ट्रमबाटै प्रशंसा गरेपछि सत्तापक्षीय सांसदहरूले टेबल ठोकेर स्वागत गरेका थिए । तर, विपक्षी बेञ्चमा भने मौनता देखिएको थियो ।

कांग्रेसका एक सांसदले भने, ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नियमावलीअनुसार नभएको भन्दै विपक्षी दलहरू विरोधको तयारीमा थिए ।  त्यही बेला उहाँले प्रधानमन्त्रीको प्रशंसा गर्नुभयो । सत्तापक्षले समर्थन जनायो तर विपक्षी बेञ्च मौन रह्यो । त्यसले उहाँको भूमिकामाथि थप प्रश्न उठाएको छ ।’

केसीले प्रश्न सोध्ने क्रममा स्वास्थ्य समस्या देखिएको थियो । त्यसपछि उनी उपचारका लागि अस्पताल पुगेका थिए ।

तर, कांग्रेसभित्र केही नेताहरूले उनको स्वास्थ्य अवस्थाभन्दा बढी उनको राजनीतिक सन्देशबारे चर्चा गरिरहेका छन् ।

अर्का कांग्रेस सांसदले भने, ‘विपक्षी दलहरू प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन संघर्ष गरिरहेका छन् । तर, हाम्रै माननीय केसीका अभिव्यक्तिहरू भने प्रधानमन्त्री बालेनको बचाउमा केन्द्रित देखिन्छन् । पछिल्ला दिनमा उहाँ विपक्षीभन्दा सत्तापक्षको सांसदजस्तो देखिनुभएको छ ।’

यो पहिलो पटक भने होइन । यसअघि पनि प्रतिनिधिसभामा नीति तथा कार्यक्रम, विनियोजन विधेयकसँगै अन्य विधेयकमाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले तोकेको मन्त्रीले दिन मिल्ने भन्दै केसीले सत्तापक्षीय व्याख्याको समर्थन गरेका थिए ।

जबकि, विपक्षी दलहरूले भने प्रधानमन्त्री स्वयम् उपस्थित भएर जवाफ दिनुपर्ने अडान लिएका थिए । प्रधानमन्त्री देशबाहिर हुँदा मात्रै प्रधानमन्त्रीले तोकेका मन्त्रीले जवाफ दिन सकिने उनीहरूको तर्क थियो ।

तर, विपक्षी सांसद रहेका केसीले यो तर्कको खण्डन गर्दै प्रधानमन्त्रीले तोकेको मन्त्रीले जवाफ दिन मिल्ने बताएका थिए ।

ती कांग्रेस सांसद भन्छन्, ‘पार्टीको आधिकारिक धारणा प्रधानमन्त्रीको प्रत्यक्ष जवाफदेहिताको पक्षमा थियो । तर केसी माननीयले त्यसविपरीत अभिव्यक्ति दिनुभयो । त्यसबेलादेखि नै उहाँको भूमिकामाथि प्रश्न उठ्न थालेको हो ।’

प्रधानमन्त्री बालेनको कार्यशैली र अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसदमा निरन्तर विरोध गरिरहेका छन् ।

हालैको सीमासम्बन्धी उनका विवादित अभिव्यक्ति, संसदमा उपस्थित नहुने शैली, विधेयकमाथिको छलफलमा भाग नलिने प्रवृत्ति, संवेदनशील विषयमा मौन बस्ने उनको व्यवहार आलोचनाको केन्द्रमा छन् ।

तर, यस्ता मुद्दामा समेत केसी आक्रामक रूपमा प्रस्तुत नभएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढ्दै गएको छ ।

कतिसम्म भने उनी आफ्नै दल कांग्रेससहित, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू उठेर विरोध गरिरहेका बेला धेरैपटक बसिरहे ।

यी घटनाक्रमले उनी सत्ताअनुकूल बोल्ने र व्यवहार गर्ने गरेको भन्दै आलोचनाको घेरामा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *