रास्वपाले राजसंस्था र हिन्दू राष्ट्र ल्याउँदैन – दुर्गा प्रसाईं
काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईं र राप्रपा परित्याग गरेका डा. धवलशम्शेर राणाबीच राजनीतिक सहकार्यको घोषणा भएको छ।
आज आयोजित एक कार्यक्रममार्फत दुवै नेताले औपचारिक रूपमा एकताको घोषणा गरेका हुन्।
कार्यक्रममा बोल्दै दुर्गा प्रसाईँले धवलशम्शेर राणालाई आफ्नो अभिभावकसरह व्यक्तित्वका रूपमा प्रस्तुत गर्दै अबदेखि सहकार्यको यात्रामा अघि बढ्ने बताएका छन्। उनले दुवै पक्षबीच कुनै प्रकारको भागबण्डा वा व्यक्तिगत स्वार्थ नरहेको स्पष्ट पारे।
प्रसाईंले भने, ‘हामीबीच केही पनि भागबण्डा गर्नु छैन। हाम्रो एक मात्र उद्देश्य देशलाई सही बाटोमा ल्याउनु हो।’
उनले आफ्ना समर्थक तथा कार्यकर्ताहरूलाई आजदेखि धवलशम्शेर राणालाई पनि नेतृत्वको रूपमा स्वीकार गर्न निर्देशन दिएका छन्।
त्यसैगरी प्रसाईँले हाल विभिन्न पक्षबाट फैलाइँदै आएको राजनीतिक भ्रमप्रति सचेत रहन आग्रह गर्दै रास्वपाले राजसंस्था र हिन्दू राष्ट्र ल्याउने भन्ने प्रचार झुटो भएको जिकिर गरेका छन्।
कार्यक्रममा दुर्गा प्रसाईँ नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ र धवलशम्शेर समूहबीच समझदारीपत्रमा हस्ताक्षरसमेत गरिएको छ।
समझदारीसँगै दुवै पक्षले आगामी राजनीतिक गतिविधि संयुक्त रूपमा अघि बढाउने बताएका छन्।
