`

रत्नाकर डाकु कसरी महर्षि वाल्मीकि भए ?

Nepal One HD २३ जेठ २०८३ १७:०१
फिचर

महर्षि वाल्मीकि रामायणका रचयिता तथा आदिकवि हुन्। उनलाई विश्व साहित्यमा अत्यन्त सम्मानका साथ स्मरण गरिन्छ। तर उनी वास्तवमा को थिए र कसरी वाल्मीकि बने भन्ने विषयमा विभिन्न जनश्रुति तथा पुराणिक कथाहरू पाइन्छन्।

प्रचलित मान्यताअनुसार वाल्मीकि नेपालको गण्डकी प्रस्रवण क्षेत्रमा जन्मिएका थिए। उनको जन्म मिति स्पष्ट रूपमा उल्लेख नभए पनि असोज शुक्ल पूर्णिमासँग उनको सम्बन्ध जोडेर वर्णन गरिएको पाइन्छ।

उनका पितालाई महर्षि प्रचेता मानिन्छ र उनी दश भाइमध्ये कान्छो सन्तान भएको उल्लेख पनि केही स्रोतहरूमा भेटिन्छ। बाल्यकालमा उनको नाम अग्नि शर्मा थियो।

सानै उमेरमा बाबु प्रचेता तीर्थाटनका क्रममा उनलाई लिएर विभिन्न स्थान घुमिरहेका थिए। त्यस क्रममा पूर्वी नेपालतर्फ पर्ने किराँत क्षेत्रमा पुग्दा परिवार विछोड हुन पुग्छ। बालक एक्लै जंगलमा हराउँछ।

डर र असहायताबीच रोइरहेका उनलाई शिकार खेल्दै आएका एक किराँत दम्पतीले भेट्छन् र आफ्नै सन्तानझैँ पालनपोषण गर्छन्। निःसन्तान भएकाले उनीहरूले उनलाई ‘रत्नाकर’ नाम राखेर हुर्काउँछन्।

उनी त्यही परिवारमा हुर्कँदै जान्छन्, विवाह गर्छन् र सन्तानसमेत हुन्छन्। तर समयसँगै पालक अभिभावकको मृत्यु भएपछि घरको जिम्मेवारी उनकै काँधमा आउँछ। आर्थिक अभाव बढ्दै जाँदा उनले वैकल्पिक बाटो खोज्न बाध्य हुन्छन् र अन्ततः डकैती तथा लुटपाटको जीवनमा प्रवेश गर्छन्।

संयोग वा उनको भाग्य एकदिन नारदजीसँग उनको भेट भयो । उनले नारदजीलाई पनि लुट्ने विचार गर्दै भने

‘ए सन्यासी ! कता हिँडेका एक छिन पख ।’ रत्नाकरले भने।

नारदजीले भने, ‘किन भाइ ? के भयो र ?’

‘के भयो भन्ने, साथमा केके छ दिएर जाऊ ।’ रत्नाकरले भने।

नारदजीले भने,  ‘मसँग त यही पुरानो वीणा बाहेक केही छैन ।’

‘त्यही भने पनि दिएर जाऊ ।’ रत्नाकरले भने।

नारदको मनमा दया लाग्यो । केही शिक्षा दिने विचार गर्दै भने

‘हे नौजवान् ! किन लुटपाट गर्छौ ?’

रत्नाकरले कट्केर भने, ‘लुट्नु मेरो पेशा हो, यसैबाट परिवार पाल्ने गरेको छु ।’

‘यस्तो काम पाप हो भन्ने थाहा छैन ?’ नारदले प्रत्युत्तर दिए।

‘जे सुकै होस्, मेरो काम लुट्नु हो ।’  रत्नाकरले भने।

– ‘लुटेको सम्पत्ती के गर्छाै ?’

रत्नाकरले भने,‘परिवारले खान्छन्, उनीहरूको भरण पोषण हुन्छ ।’

‘तिम्रा परिवारले लुटेको सम्पत्ती मात्र खान्छन् कि तिमीले गरेको पाप पनि बोक्छन् ?’ नारदले भने।

रत्नाकरले भने, ‘बोक्छन् नि किन नबोक्ने, यो पनि सोध्ने कुरा हो र ? मैले कमाएको धन उनीहरूको हुन्छ भने पापमात्र नहुने भन्ने हुन्छ र ?’

‘त्यसो भए सोधेर आऊ न त हुन्छ ?’ नारदले भने।

‘हुन्छ, हुन्छ किन नहुने ?’  यति भन्दै उसले घरमा गएर समग्र वृतान्त बतायो । उसको कुरा सुनेर परिवारबाट प्रष्ट धारणा आयो।

‘परिवार पाल्नु तपाईँको कर्तव्य हो । कसरी कमाउनुहुन्छ तपाईँले जान्ने कुरा हो । त्यसैले तपाईँले गर्नुभएको पापमा सहभागी हुन सक्दैनौँ ।’

बल्ल रत्नाकरको आँखा खुल्यो । आफ्नो कामलाई आफैँले धिक्कार्दै नारदजीको अगाडि गएर भने,

‘मान्यवर ! तपाईँले भन्नुभएको ठीकै रहेछ । संसार स्वार्थी रहेछ । सबै सुखका मात्र सँगसाथी हुँदा रहेछन्, दुःखमा त एक्लै परिने रहेछ । त्यसैले संसारदेखि नै वैराग्य लागेर आयो । उचित मार्गदर्शनको अपेक्षा गर्छु ।’

त्यसपछि नारदजी रामनाम मन्त्र जप गर्ने उपदेश दिएर बाटो लागे । उनले हतपतमा नारदले रामराम भनेका वाक्य मरामरा भन्ने सुनेछन् र सोही अनुसार जप गर्न लागे । जप पनि यति अचल भएर गर्न लागे कि शरीरमा धमिराले गोलो लगाएको समेत पत्तो पाएनन् ।

समयक्रममा नारद पुनः त्यहाँ आइपुग्दा उनलाई उक्त अवस्थामा देख्छन् र उनलाई ‘वाल्मीकि’ नामले सम्बोधन गर्छन्। त्यसपछि उनी वाल्मीकि ऋषिका रूपमा परिचित हुन्छन्।

पछि उनी कृष्णगण्डकी आसपासको क्षेत्रमा आश्रम बनाएर बस्छन्। एक दिन गङ्गा स्नानका क्रममा क्रौञ्च पक्षीको जोडीमध्ये एकलाई व्याधाले मारेको दृश्य देख्दा उनको मन द्रवित हुन्छ र करुण रसले भरिएको पहिलो श्लोक अनायासै उनको मुखबाट निस्किन्छ। यही श्लोकलाई संस्कृत साहित्यको पहिलो काव्यात्मक अभिव्यक्तिको रूपमा लिइन्छ।

त्यसै अनुभव र नारदको उपदेशलाई आधार मानेर उनले २४ हजार श्लोकमा विस्तारित ‘रामायण’को रचना गरे, जसलाई ‘वाल्मीकीय रामायण’ भनिन्छ।

यही कृति उनलाई आदिकवि र विश्वविख्यात महर्षिको रूपमा स्थापित गर्ने आधार बन्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *