रोनाल्डोको अन्तिम नाच
२०२६ विश्वकप नजिकिँदै गर्दा पोर्चुगल एक बलियो दाबेदारको रूपमा देखिन्छ। प्रशिक्षक रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको यो टोलीसँग उत्कृष्ट प्रतिभा, गहिराइ र सन्तुलन छ।
क्रिस्टियानो रोनाल्डोले अत्यन्त गरिबीमा बाल्यकाल बिताए। १२ वर्षको उमेरमा उनी स्पोर्टिङ एकेडेमी पुगेपछि नजिकको म्याकडोनाल्ड्समा बाँकी बर्गर माग्थे। उनी १४ वर्षको उमेरमा शिक्षकमाथि कुर्सी फ्याँकेर विद्यालयबाट निष्कासित भएका थिए। यी घटनाहरूले उनको संघर्षपूर्ण यात्रालाई उजागर गर्छन्। निकै संघर्षमार्फत विश्व फुटबल जगतको उचाई चुमेका रोनाल्डोले यो विश्वकपमा पोर्चुगललाई उपाधी दिलाउन सक्लान् ?
यो विश्वकप रोनाल्डो आफ्नै लागि पनि प्रतिष्ठाको विषय बनेको छ। उनले हालसम्म ६ वटा विश्वकप खेलिसकेका छैनन्। तर, कुनै पनि विश्वकप उनका लागि सम्झनलायक रहेन। फिफा विश्वकप २०२६ भने उनको लागि अन्तिम विश्वकप हुनसक्छ। सायद विश्व फुटबल जगतका धेरै समर्थकले यसपछि रोनाल्डोलाई पोर्चुगलबाट खेल्दै गरेको देख्ने छैनन्। यही विश्वकपमा रोनाल्डो पोर्चुगलको जर्सीमा एक अन्तिम पटक मैदानमा चक्कर लगाउनेछन्।
यसपाली यदि पोर्चुगलले अपेक्षित क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई हराउन सक्यो भने उसको आत्मविश्वास उच्चतम बिन्दुमा पुग्नेछ। दशकअघि युरोपेली च्याम्पियन बनेको टोलीबाट अहिले क्रिस्टियानो रोनाल्डो मात्र बाँकी छन्, तर अहिलेको टिमले गत गर्मी सिजनमै नेसन्स लिगको उपाधि जितिसकेको छ।
पोर्चुगलको सबैभन्दा ठूलो शक्ति भनेको विश्वस्तरीय मिडफिल्ड र रणनीतिक लचिलोपन हो। मार्टिनेजले ४-२-३-१ वा ४-३-३ फर्मेसन प्रयोग गर्छन्, जहाँ मुख्य सिद्धान्त बल पोजेसनको माध्यमबाट खेल नियन्त्रण गर्नु हो। टोलीसँग उत्कृष्ट गहिराइ, सन्तुलन, र उत्कृष्ट उमेर तथा फर्ममा रहेका प्रशस्त खेलाडीहरू छन्। पोर्चुगलले वाइड क्षेत्रबाट क्रसहरू र सेन्ट्रल क्षेत्र ओभरलोड गरेर प्रहार गर्न सक्छ।
तर, टोलीको मुख्य कमजोरी भनेको प्रभावशाली सेन्टर-ब्याकको अभाव हो। रुबेन डियाजको जोडीका लागि त्यस्तो डिफेन्डर छैन, जसले गर्दा सेट-पिस र क्रसबाट उनीहरू जोखिममा पर्छन्। छनोटमा हंगेरी र रिपब्लिक अफ आयरल्यान्डले यही कमजोरीलाई लक्षित गरेका थिए। डब्लिनमा भएको पराजयले देखायो कि गहिरो रक्षापंक्ति बनाएर शारीरिक रूपले बलियो खेल्ने टोलीसामू पोर्चुगल संघर्ष गर्न सक्छ।
यसपटको विश्वकपमा पोर्चुगलबाट नजर राख्नुपर्ने खेलाडीहरूमा भिटिन्या अग्रपङ्क्तिमा छन्। एक समय वुल्भ्समा असफल रहेका उनी अहिले पिएसजीका मेट्रोनोम र बालोन डी’ओरमा तेस्रो स्थानमा रहेका छन्। ब्रुनो फर्नान्डिसले २०२५-२६ प्रिमियर लिगमा एक सिजनमा २१ असिस्टको रेकर्ड बनाए। तर ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डो नै सर्वाधिक चर्चित छन्। उनी र लियोनल मेस्सी छैटौं विश्वकप खेल्ने पहिलो पुरुष हुनेछन्, तर रोनाल्डोले बनाएका आठ विश्वकप गोलमध्ये कुनै पनि नकआउट चरणमा भएको छैन।
स्पेनी प्रशिक्षक रोबर्टो मार्टिनेजको यो तेस्रो विश्वकप हो। उनले २०१८ मा बेल्जियमलाई तेस्रो स्थान दिलाएका थिए। उनी २०२३ मा पोर्चुगलको प्रशिक्षक बनेका हुन् र यस गर्मीमा उनको सम्झौता सकिँदैछ। छनोट चरणमा पोर्चुगलले डब्लिनमा पराजय भोगे पनि तीन दिनपछि आर्मेनियाविरुद्ध ९-१ को ऐतिहासिक जित निकाल्दै समूह विजेता बन्यो, जुन टोलीको इतिहासमै दोस्रो ठूलो जित हो।
यो टोलीका लागि ०२६ विश्वकप अत्यन्त भावनात्मक प्रतियोगिता हुनेछ। पोर्चुगलले यस शताब्दीको हरेक विश्वकपमा छनोट पाएको भए पनि उनीहरू १९६६ पछि मात्र एक पटक सेमिफाइनल पुगेका छन्। रोनाल्डोले यो नै आफ्नो अन्तिम विश्वकप हुने बताइसकेका छन्, यद्यपि मार्टिनेजले उनी २०३० मा पोर्चुगल सह-आयोजक रहेको विश्वकपमा पनि खेल्न सक्ने संकेत दिएका छन्।
