`

 हुण्डी कारोबार : १९ लाख ५२ हजारसहित एक जना पक्राउ

Nepal One HD २४ जेठ २०८३ १५:०६
अपराध

रसुवा । प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा ठूलो परिमाणमा नगदसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका–३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङ रहेका छन्। उनलाई पासाङ ल्हामु राजमार्गअन्तर्गत धुन्चे बजार क्षेत्रमा चेकजाँचका क्रममा पक्राउ गरिएको हो।

प्रहरीले स्याफ्रुवेशीतर्फबाट काठमाडौं आउँदै गरेको ना १ ज ४८०७ नम्बरको भाडाको सुमो गाडी रोकेर जाँच गरेको थियो। सो क्रममा गुरुङको साथ रहेको झोलाभित्र ठूलो मात्रामा नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक राजु शाहका अनुसार झोलाभित्र १ हजार, ५ सय र १०० रुपैयाँ दरका नोटसहित कुल १९ लाख ५२ हजार १०० रुपैयाँ बरामद भएको हो।

बरामद नगदसहित उनलाई नियन्त्रणमा लिएर हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत रसुवाबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीले स्रोत नखुलेको ठूलो रकमको कारोबारबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *