यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
गोरखा। यतिबेला जिल्लाको तिब्बती सिमानामा रहेका गाउँबस्ती सुनसान छन् ।सबै गाउँले यार्सागुम्बा सङ्कलन गर्न लेक गएपछि लेक र खर्कका चहुर, भीर पखेरा गाउँलेले भरिभराउ छन् ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँ, साम्दो तथा वडा नं. ७ छेकम्पारका घरहरुमा तला ठोकिएका छन् ।
वडा नं. १ को ३४, २५ र २६ नं पिलर रहेका लेक तथा खर्कहरु गाउँलेहरुले खचाखच भएको स्थानीयको भनाइ छ । त्यस्तै वडा नं. ७ को छेक्या र भाज्यो लेकमा पनि गाउँलेहरु पुगेको वडाअध्यक्ष टासी दोर्जे लामाले बताउनुभयो ।
समुद्री सतहदेखि चार हजार ६५ मिटर उचाइमा रहेको भाज्यो लेक पुग्न छेकम्पारबाट ६ घण्टाभन्दा धेरै पैदल हिँड्नुपर्छ । त्यहाँ अहिले छेकम्पारको ङाक्यू, लेरु, लामागाउँ, लार, फुर्पे र निले गाउँका बासिन्दाहरु अस्थायी शिविर बनाएर बसोबास गर्छन् ।
समुद्री सतहबाट चार १६५ मिटर उचाइमा अवस्थित छेक्या लेकमा भने छेकम्पार, झोङ र बुर्जी गाउँका बासिन्दाहरु त्रिपाल टाँगेर अस्थायी बसोबास गरेको वडाअध्यक्ष लामाले जानकारी दिनुभयो ।
त्यसैगरी चारहजार मिटरभन्दा अग्लो फुचुन लेकमा छुले गाउँका ४५ घरधुरीको अस्थायी बसोबास रहेको उहाँको भनाइ छ। वडा नं. ७ का सबै गाउँका ८१२ घरधुरीका बासिन्दाहरु अहिले यिनै लेकमा यार्सागुम्बा सङ्कलन गर्न व्यस्त छन् ।
महिला, बालबालिका, वृद्धवृद्धा तथा युवाहरु सबै बिहान ८ बजे शिविरबाट निस्कने, दिनभर यार्सागुम्बा सङ्कलन गर्ने र साँझ ६ बजे बल्ल शिविर भित्रिने गर्छन् ।
यतिबेला चुमनुब्री–७ का गाउँ पनि सुनसान छ । वडाध्यक्ष टासी दोर्जेले केही घरमा बुढाबुढी मात्रै रहेको र अधिकांश घर खाली भएको बताउनुभयो ।
कसैले भने रोङ्वा (तल्लोभेगका) लाई मासिक तलब दिएर घर कुरुवा राखेको उहाँको भनाइ छ । चुमनुब्री–३ फिलिम, पाङसिङतिरका महिलालाई मासिक रु २० हजार तलब दिएर दुई महिनाका लागि घर कुरुवा राखिएको उहाँले जानकारी दिनुभयो ।
गाउँलेहरु बिहान सबेर क्याम्पबाट निस्केर साँझ अबेर क्याम्पमा छिर्छन्। “बिहान खाना खाइवरी ८ बजे यार्सा टिप्न जाने र साँझ ६ बजेपछि मात्रै क्याम्पमा आइपुग्छन्”, केही समयअघि भाज्यू, छेक्यार र फुचुन लेक पुगेर फर्कनुभएका मनास्लु संरक्षण क्षेत्र आयोजनाका कर्मचारी सुवास नेपालले बताउनुभयो ।
