ट्रम्पको चेतावनीपछि रोकियो इरान-इजरायलको हानाहान
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इरानमाथि थप ठूलो सैन्य आक्रमण नगर्न चेतावनी दिएका छन्।
इरान र इजरायलबीचको तनाव पुनः चुलिँदै जाँदा अमेरिका र इरानबीच सम्भावित कूटनीतिक सम्झौता नै प्रभावित हुन सक्ने चिन्ता ट्रम्पले व्यक्त गरेका हुन्।
समाचार संस्था एक्सियोसका अनुसार ट्रम्पले नेतान्याहुसँगको संवादमा भनेका छन्, ‘बिबी, सावधान रहनुहोस्, नत्र तपाईं चाँडै यो युद्धमा एक्लो पर्नुहुनेछ।’
ट्रम्पको भनाइले अमेरिकाभित्र पनि मध्यपूर्वको बढ्दो अस्थिरताप्रति चिन्ता बढिरहेको संकेत गरेको छ। इजरायलको आक्रामक सैन्य कदमले तेहरानसँग भइरहेको संवाद प्रक्रिया बिथोलिन सक्ने र क्षेत्रलाई पुनः पूर्ण युद्धतर्फ धकेल्न सक्ने अमेरिकी प्रशासनको आकलन रहेको बताइएको छ।
पछिल्ला दिनहरूमा लेबनानको राजधानी बेरुतस्थित हिजबुल्लाहका संरचनामाथि इजरायलले गरेको भीषण आक्रमणपछि क्षेत्रीय तनाव झन् बढेको थियो।
त्यसको प्रतिक्रियास्वरूप सोमबार इरानले इजरायलतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। अप्रिलमा भएको युद्धविरामपछि इरानबाट भएको यो सबैभन्दा ठूलो सैन्य प्रतिक्रिया मानिएको छ।
इरानी आक्रमणपछि इजरायलले पनि इरानका केही सैन्य अड्डा तथा पेट्रोकेमिकल उद्योगलाई लक्षित गर्दै सीमित जवाफी कारबाही गरेको थियो। दुवै पक्षबीच भएको यो प्रत्यक्ष सैन्य भिडन्तले मध्यपूर्व पुनः व्यापक युद्धको संघारमा पुगेको विश्लेषण भइरहेको छ।
अमेरिकाको पहलमा दुई महिनाअघि भएको युद्धविरामपछि केही समय तनाव कम भएको देखिए पनि पछिल्ला घटनाक्रमले स्थिति फेरि अस्थिर बनेको छ। हाल दुवै देशले थप आक्रमण नगरेको जनाए पनि तेहरानले इजरायलले लेबनानसहित आफ्नो सैन्य अभियान जारी राखेमा पुनः क्षेप्यास्त्र आक्रमण गर्ने चेतावनी दिएको छ।
युद्धको प्रभाव केवल सैन्य क्षेत्रमा मात्र सीमित छैन। विश्व बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लाग्न थालेको छ भने ऊर्जा, खाद्यान्न र ढुवानी क्षेत्रसमेत प्रभावित भएका छन्। तेल आपूर्तिमा अवरोध आउने सम्भावनाले अन्तर्राष्ट्रिय बजारमा अनिश्चितता थप बढाएको छ।
यसैबीच, यमनस्थित इरान समर्थित हुथी विद्रोही समूहले रातो सागर क्षेत्रमा इजरायलसँग सम्बन्धित जहाजमाथि नाकाबन्दी घोषणा गरेको छ। विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने यो समुद्री मार्गमा अवरोध उत्पन्न भए अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा ठूलो असर पर्ने अनुमान गरिएको छ।
अर्कोतर्फ अमेरिकी सेनाले ओमानको खाडी क्षेत्रमा आफ्नो निगरानी र नियन्त्रण अभियानलाई निरन्तरता दिएको जनाएको छ। इरानी बन्दरगाहतर्फ गइरहेका केही तेल ट्याङ्करमाथि निगरानी बढाइएको अमेरिकी पक्षको भनाइ छ।
मध्यपूर्वमा बढ्दो तनाव, इरान–इजरायलबीचको प्रत्यक्ष सैन्य टकराव, हिजबुल्लाह र हुथी समूहको सक्रियता तथा अमेरिका-इरान सम्बन्धको अनिश्चित अवस्थाले विश्व राजनीतिलाई नयाँ मोडतर्फ धकेलिरहेको विश्लेषकहरूको भनाइ छ।
