`

बालेनले माफी माग्नुपर्छ, सभामुखको भूमिका विवादित : परशुराम तामाङ(भिडियो)

जङ्‍ग तामाङ २८ जेठ २०८३ १२:४४
अन्तर्वार्ता/बिचार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सदस्य परशुराम तामाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमासम्बन्धी दिएको विवादित अभिव्यक्तिप्रति संसद्मा आएर माफी माग्नुपर्ने बताएका छन्।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको कूटनीतिक अडान कमजोर बनाएको तथा नेपाल–भारत सीमा विवादलाई थप जटिल बनाउने जोखिम सिर्जना गरेको दाबी गरेका छन्।

नेपालवान एचडीसँगको अन्तर्वार्तामा तामाङले प्रधानमन्त्रीको भनाइलाई आधार बनाएर भारतले समेत नेपालसँग भूमि फिर्ता माग्न सक्ने तर्क गरे।

‘यदि प्रधानमन्त्रीको भनाइलाई आधार मानेर भारतले तिमीहरूले हाम्रो भूमि मिचेका छौ, हामीलाई फिर्ता गर भन्यो भने त्यसको अर्थ के हुन्छ ?’ उनले प्रश्न गर्दै भने, ‘यदि त्यसो होइन भने संसद्को रेकर्ड हेर्नू भन्यो भने त्यो अझ ठूलो प्रमाण बन्न सक्छ।’

उनले प्रधानमन्त्रीले बोलेको कुरा व्यक्तिगत नभई राज्यको आधिकारिक धारणा सरह हुने भएकाले गल्ती भएको भए स्वीकार गर्नुपर्ने बताए।

संसद्को अभिलेखबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने र देशवासीसँग माफी माग्नुपर्ने उनको भनाइ छ। ‘गल्ती स्वीकार गर्दा मानिस सानो हुँदैन, बरु महान् हुन्छ,’ उनले भने।

तामाङले सभामुख डोलप्रसाद (डीपी) अर्यालको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाएका छन्। सभामुखले प्रतिनिधिसभा नियमावली निर्माणदेखि सदन सञ्चालनसम्म निष्पक्ष र अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको उनको आरोप छ।

नियमावली सर्वसम्मत रूपमा पारित गराउन पहल नगरेको, नियमावलीका प्रावधानबारे गलत व्याख्या गरेको तथा केही विधेयक पारित गराउँदा प्रक्रियागत कमजोरी देखाएको उनले बताए।

उनले सम्पत्ति शुद्धीकरण र फौजदारी कसुरमा मुद्दा लागेका बहालवाला सांसदलाई निलम्बन नगर्ने व्यवस्था संविधानको मर्मविपरीत रहेको दाबी गरे।

प्रतिनिधिसभा नियमावलीमा ‘काइते भाषा’ प्रयोग गरेर सांसदलाई विशेष सुविधा दिने प्रयास भएको भन्दै उनले त्यसलाई संशोधन गर्नुपर्ने बताए। सांसदलाई कानुनभन्दा माथि राख्ने कुनै पनि व्यवस्था स्वीकार्य हुन नसक्ने उनको भनाइ छ।

सम्पत्ति छानबिन आयोगको कार्यादेशमाथि पनि तामाङले असन्तुष्टि जनाए।

पूर्व तथा वर्तमान राष्ट्रपति-उपराष्ट्रपति, नेपाली सेना, प्रधानमन्त्री बालेन र उनका मन्त्रिपरिषद्का सदस्य तथा पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारलाई छानबिनको दायराबाहिर राखिएको भन्दै उनले आयोगको निष्पक्षतामाथि प्रश्न उठाए।

‘राजनीतिमा लाभ लिएका सबै व्यक्ति छानबिनको दायरामा आउनुपर्छ,’ उनले भने, ‘दोषी भए कारबाही हुनुपर्छ, निर्दोष भए सफाइ पाउनुपर्छ।’

पुराना दलका नेताहरूलाई देख्नासाथ भ्रष्टाचारीको आरोप लगाउने प्रवृत्ति बढेको भन्दै उनले प्रमाणका आधारमा मात्रै निष्कर्षमा पुग्नुपर्ने बताए।

अन्तर्वार्ताका क्रममा तामाङले नेकपाको जनमत खस्किनुका कारणबारे पनि आत्मसमीक्षा गरे।

जनयुद्धका बेला जनता र देशलाई रूपान्तरण गर्ने आशा जगाउन सफल भए पनि शान्ति प्रक्रियापछि सत्ता सञ्चालनमा अपेक्षाअनुसार परिणाम दिन नसक्दा जनताको विश्वास कमजोर बनेको उनले बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *