`

‘कालो कुनाबाट’ देश चलाउन खोज्दैछन् प्रधानमन्त्री बालेन ? (अन्तर्वार्ता)

जङ्‍ग तामाङ ३० जेठ २०८३ २२:०६
अन्तर्वार्ता/बिचार

काठमाडौं । कालो चस्मा र कालै पहिरन लगाउने प्रधानमन्त्री बालेन कुनै कालै कुनामा रहेको भन्दै कतिपयले टिप्पणी गरिरहेका छन् । यस्तो टिप्पणी गर्नेमा राजनीतिशास्त्री लोकराज बराल पनि हुन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्री बालेन मर्यादाहीन मात्रै देखिएन, अराजनीतिक पनि देखिए ।’ प्रधानमन्त्री बालेनलाई उनी राजनीतिज्ञ मान्न तयार छैनन् । एक जना चर्चित र्‍यापर मात्रै भएको बताउँछन् ।

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मामिलामा केही आशा जगाउने कामको थालनीको संकेत पाए पनि जनजीविकाको सवालमा केही पनि गर्न नसकेको भन्दै प्रधानमन्त्री बालेनको उनी आलोचना गर्छन् ।

उनले भने, ‘ अहिलेसम्म जनतालाई राहत दिने खालको जनमुखी कार्यक्रम आएको देखिएन । बजारमा महंगी बढेकै छ ।’
उनै राजनीतिशास्त्री बरालसँग गरिएको मूल अंश र पूरा भिडियो संवाद :

प्रधानमन्त्री बालेन्द्र शाहको अढाइ महिने कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

अढाई महिनामा मूल्याङ्कन गर्ने हो । त्यो आधिकारिक हुँदैन । तर, संकेतहरू प्राप्त हुन्छन् ।

संकेतहरू कस्ता देखिए ?

पहिलो, बालेन्द्र शाह राजनीतिक प्राणी होइन । उहाँ एकाएक प्रधानमन्त्री पद अफर गरेपछि चुनावको बेला राष्ट्रिय स्वतन्त्र पार्टी जोइन गर्नुभयो । अनि आउनुभयो । उहाँलाई जनताले मन पराउनुभएको थियो । उहाँलाई जिताइदिनुभयो । त्यस्तो बहुमतले । प्रधानमन्त्री त बन्नुभयो । प्रधानमन्त्री त राजनीति पनि हो । कला, कौशल हो । जनतासँग सम्पर्क गर्ने र कुरा बुझ्ने, संसद् के हो त्यो बुझ्ने, व्यवस्था के हो ? त्यो बुझ्ने छैन । मैले गर्नुपर्छ ? त्यसको छटपटि त देखिन्छ तर गर्नुपर्छ मात्रै भनेर हुँदैन । उहाँ संसदीय व्यवस्थामा हुनुहुन्छ । प्रधानमन्त्री त अभिन्न अंग हो । उहाँलाई संसदले नै बनाएको हो । उहाँ संसदप्रति नै जवाफदेही हुनुपर्छ । त्यसकारण उहाँको जुन काम शैली देखिन्छ, व्यवस्थापकीय र प्रणालीको हिसाबले धेरै कमजोर देखिन्छ ।

त्यसप्रति कुनै प्रतिबद्धता देखिँदैन । जहाँसम्म केही गरौँ, भ्रष्टाचारलाई मुक्त गरौँ, राजनीतिमा देखिएका व्यभिचारलाई हटाऔँ भन्ने चाहना देखिन्छ । हुटहुटी देखिन्छ । तर, अहिलेसम्म जनतालाई राहत दिने खालको जनमुखी कार्यक्रम आएको देखिएन । बजारमा महंगी बढेकै छ । नियन्त्रण गर्न कदम चालिएको छैन । आयोग गठन गरेर भ्रष्टाचारको फाइल खोल्ने भन्ने जुन छ, त्यो त राम्रै हो ।

संकेतहरू व्यवस्थाको हिसाबले चाहिँ राम्रो देखिएन ?

व्यवस्थाको हिसाबले चाहिँ राम्रो देखिएन ।

संसदीय प्रणाली मास्नतिर उद्धत देखिए ?

उहाँ राजनीतिक प्राणली होइन, मैले अघि नै भनेँ । उहाँ र्‍यापर हो । उहाँ बहुचर्चित भएर आउनुभयो । उहाँको पृष्ठभूमि त्यति हो । केही वर्ष काठमाडौंको मेयर हुनुभयो । अलिअलि सफासुग्गर गर्ने काम गर्नुभयो । मूलभूत रुपमा काठमाडौंको रुपान्तरण केही भएको होइन । ओखरपौवाको फोहोर फाल्ने विषयमा कुलमान घिसिङ मन्त्री हुँदा गएर मिलाएको देखिन्छ । तर, शहरका मध्यमवर्गीय मानिसहरूलाई बालेनले राम्रै गरेको भन्ने छ ।

त्यो बाहेक उहाँको राजनीतिक पृष्ठभूमि होइन । उहाँको पार्टी पनि होइन, रास्वपा । हुँदाहुँदा असार ४ गते चितवनमा सम्मेलन हुँदैछ । उहाँकै पार्टीका मान्छेहरूले भनिरहेका छन् कि उहाँ भाग लिनुहुन्न । राजनीतिक गतिविधिमा कहीँकतै भाग नलिने अनि देशको प्रधानमन्त्री राजनीतिज्ञ भएर बस्नुपर्ने, उल्टो भएन ? रास्वपा रवि लामिछानेले सिर्जना गरेको पार्टी हो । उहाँ नेता हो, सभाति हो । उहाँले त पार्टी बनाऔँ भन्नुहुन्छ ।

बालेन्द्र पनि पार्टीको वरिष्ठ नेता हुन् नि ?
वरिष्ठ नेता त बनाइदिएका हुन् नि । प्रधानमन्त्रीको पदावधि सकिएपछि उहाँ बस्नुहुन्छ कि बस्नुहुँदैन थाहा छैन । भोलि केही भयो भने राजनीतिमा लाग्नुहुन्छ कि हुँदैन ? त्यो प्रश्न छ ।

बालेन्द्र शाह आफ्नो प्रधानमन्त्रीकाल सकिएपछि राजनीतिमा सक्रिय हुन्छन् कि हुँदैनन् होला ?
प्रधानमन्त्री सकिएपछि राजनीतिमा सक्रिय हुनुहुन्छ भन्ने मलाई लाग्दैन । मेरो अन्दाज हो ।

बालेनमा राजनीतिक गुण देखिएन ?
त्यो नभएर त मैले राजनीतिज्ञ होइन भनिसकेँ । संसदमा आउने, सांसदहरूलाई भेट्ने, जनतामा जाने, पत्रकार सम्मेलन गर्ने, केही न केही सञ्चार गरिरहने हुनुपर्‍यो । नेतृत्व भएपछि त जनतासँग सम्पर्क आउनुपर्‍यो नि । उहाँ कहाँ गोप्य कुनामा बस्नुभएको छ । कालो चस्मा लगाएर, कालो लुगा लगाएर, त्यो शैली होइन । उहाँले काम गर्दै होला देशकै लागि ।

रास्वपाको पारदर्शीता एउटा एजेण्डा हो । तर, प्रधानमन्त्री बालेन संसद् नआउने, जनतासँग साक्षात्कार गर्ने उनको यो शैली कमजोरी हो ?

बालुवाटारमा के गर्दै हुनुहुन्छ ? थाहा छैन । सिंहदरबारमा के गर्दै हुनुहुन्छ ? थाहा छैन । कसैसँग भेटघाट छैन । उहाँका मन्त्रीहरूले कति भेट पाउँछन् ? थाहा छैन । सायद मन्त्रिपरिषद् बैठकको दिन भेट होला । उस्तै काम पर्‍यो भने भेट्लान । त्यो त सम्पर्कमै छैनन् नि ।

यो लोकतान्त्रिक शैली हो ?

होइन । अहिलेको व्यवस्थाले खुलापनमा विश्वास गर्छ । जनतासँग सम्पर्क गर्ने व्यवस्था हो । संसदमा आएर बोल्नुपर्ने व्यवस्था हो । संसदमा उठेको कुराप्रति जवाफदेही हुने व्यवस्था हो । उहाँ रास्वपा संसदीय दलको नेता पनि हो । देशको नेता पनि हो । त्यसले गर्दा उहाँ त जहिले पनि आउनुपर्‍यो नि ।

तर, संसदमा आउँदा बेढंगी कुरा गर्दा रहेछन् नि ?

संसदमा बेढंगी कुरा गर्दा अरुले टोकिहाल्छन् नि । जस्तो संसदमा उहाँले सीमाबारे के भन्नुभयो, अहिले टोकाइखाइरहेका छन् । त्यस्तो हुन्छ । जे होस्, राजनीतिमा यस्तो त भइहाल्छ । तर, संसद् आउनु त पर्‍यो । सम्पर्कमा बस्नु न पर्‍यो । त्यस्तो पनि प्रधानमन्त्री हुन्छ ? राष्ट्रपतिलाई निम्ता दिएर आफूले बोलाएको छ, उहाँकै भाषण पढिरहनुभएको छ, राष्ट्रपतिले । भाषण छोडेर बिचमै छाडेर हिँड्नुहुन्छ । मर्यादित व्यवहार छैन ।

राजनीतिमा खाली चुनाव जितेर म जनताको सेवा गर्छु भनेर मात्रै हुँदैन, सेवा गर्ने प्रक्रिया नि हुन्छ । अब त्यो तरिका हो ? लोकतन्त्र भनेको संस्कार हो । अलिकति तलमाथि हुँदा अमेरिकामा कति हल्ला भयो ?

प्रधानमन्त्री बालेनको यस्तो अलोकतान्त्रिक शैलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई चुनौती थपिन्छ ?

व्यवस्थालाई चुनौती दिएर केही हुँदैन । जनता सचेत भए भने भोलि चुनौती दिनेलाई तह लगाउन सक्छन् । ज्ञानेन्द्रले पनि चुनौती दिएका थिए । आखिरी टिकेन । जनबलको सामु कोही टिक्दैन । एउटा घर चलाउन पनि त्यसको तौरतरिका हुन्छ । राजनीति भनेको तौरतरिका हो । प्रक्रिया हो । लोकतन्त्र भनेको प्रक्रिया पनि हो । चुनावबाट आउँछ, सरकार चलाउँछ, हारेपछि सरकार छोड्नुपर्छ । त्यसपछि सरकार बन्नुपर्छ । त्यो सरकार व्यवस्थाप्रति उत्तरदायी हुनुपर्छ । संसदप्रति उत्तरदायी हुनुपर्छ ।

त्यसले यो लोकतन्त्र हो । अधिनायकवाद होइन । राजाको शासनमा हुकुमी शासन हुन्थ्यो । हुकुम नै कानुन हुन्थ्यो । यो त राणाशासन होइन । अझै २०१७ सालपछिको महेन्द्रको शासन पनि होइन । त्यसबेला पनि दरबारको केही कामकाजबाहेक सबै सरकारले चलाउँथ्यो । पञ्चायती व्यवस्थामा पनि प्रधानमन्त्री, मन्त्रीहरूले सरकार चलाएकै थियो त । यो गणतान्त्रिक व्यवस्था हो । लोकतन्त्रको उत्कर्ष हो । राजनीति संस्कार हो । लोकतन्त्र संस्कार सिकाउने व्यवस्था हो । उहाँले पाँच वर्ष कसरी टिकाउँछन् सत्ता ? म भन्न सक्दिनँ ।

५ वर्ष प्रधानमन्त्री भइरहन्छन् भन्ने ग्यारेन्टी गर्न सकिँदैन ?

सकिँदैन । उहाँको पार्टी नेता रवि लामिछानेसँग सम्बन्ध कस्तो हुन्छ ? हेरौँ । जहिल्यै उहाँले बिगार्ने र अरुलाई बाहिरबाट टालटुल गरेर हुँदैन । अस्ति रवि लामिछानेजी दिल्ली गरेर मिलाएर आउनुभयो, शिशिर खनालजीले उहाँको कुरा बोल्नुभयो । सँधै अर्कालाई भरिया लगाएर त हुँदैन । नेता भएपछि त आफैं बोल्नुपर्‍यो । सँधै बोल्नुपर्छ भन्ने छैन ।

अरुले जस्तो भाषण गरेर, रिबन काटेर उदघाटन गरेर जानुपर्छ भन्ने छैन । तर, बोल्नुपर्ने ठाउँ संसदमा त बोल्नुपर्‍यो नि । अस्ति प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा तीन दिनअघि प्रश्न लिएर मन्त्रालयले ठिक्क पारेको जवाफ दिँदा हुन्थ्यो । भाषणै गर्नुपर्छ भन्ने छैन । तयारी जवाफ भएको भए बीचमा अन्टसन्ट बोल्नुपर्ने थिएन ।

पूरा संवाद भिडियोमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *