बयान नसकिएपछि व्यवसायी भट्ट र अग्रवाल न्यायिक हिरासतमा
काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको विशेष अदालतमा बयान सोमबार पूरा नभएपछि दुवैलाई न्यायिक हिरासतमा पठाइएको छ।
विशेष अदालतका सूचना अधिकारी पार्वती हितानका अनुसार बयान नसकिएपछि दुवै जनालाई हिरासतमा पठाइएको हो। अदालतको इजलासमा अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीश उमेश कोइराला र विदुर कोइरालाको उपस्थितिमा बयान प्रक्रिया चलेको थियो।
भट्टमाथि सम्पत्ति शुद्धीकरण अन्तर्गत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसाको बिगो दाबी गरिएको छ। उनीसँगै शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल, शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर समेत प्रतिवादी छन्। सन्दीप चाचन दलाल नम्बर ५५ नामक ब्रोकिङ कम्पनीका अध्यक्ष हुन्।
अनुसन्धान अनुसार हिमालयन रि–इन्स्योरेन्स लगायतका कम्पनीहरूको रकम दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप उनीहरूमाथि लगाइएको छ। अनुसन्धानका क्रममा दीपक भट्टलाई चैत १९ र सुलभ अग्रवाललाई चैत २२ मा पक्राउ गरिएको थियो।
अभियोगपत्रमा आर्थिक वर्ष २०७४/७५ मा घर तथा जग्गाको पुनःमूल्यांकन गरी ३५ करोड ६८ लाख ८६ हजार रुपैयाँभन्दा बढी सम्पत्तिमा थप गरिएको उल्लेख छ। त्यस्तै इन्फिनिटी होल्डिङ्स प्रालिमा आर्थिक वर्ष २०७७/७८ मा ४५ करोड र २०७९/८० मा ९ करोड ५० लाख रुपैयाँ पूँजी थप गरिएको देखिएको छ।
यी रकमहरू कर्जा अपचलन तथा बैंकिङ कसुरमार्फत प्राप्त स्रोतबाट बढाइएको दाबी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छ। अदालतमा बयान मंगलबार पनि निरन्तर हुने र त्यसपछि थुनछेक बहस हुने जनाइएको छ।
