सुडानमा पाँच महिनामा ड्रोन आक्रमणबाट एक हजारभन्दा बढीको मृत्यु
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले सोमबार द्वन्द्वग्रस्त सुडानमा ड्रोन युद्धको प्रयोगमा ‘तीव्र वृद्धि’ भएको भन्दै यसको निन्दा गर्नुभएको छ ।
ड्रोन युद्ध सुडानको द्वन्द्वको बढ्दो प्रमुख विशेषता बनेको छ । सन् २०२३ अप्रिलमा देशको सेना र विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच युद्ध सुरु भएको थियो।
“सुडानमा द्वन्द्वको विस्तार भयानक भएको छ र युद्धमा ड्रोनको प्रयोगमा तीव्र वृद्धि भएको छ,” संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले भन्नुभयो ।
“सन् २०२६ जनवरी र मेको बीचमा हाम्रो कार्यालयले ड्रोन आक्रमणबाट एक हजारभन्दा बढी नागरिकहरू मारिएका दस्तावेजहरू रेकर्ड गरेको छ,” उहाँले जेनेभामा संयुक्त राष्ट्रसङ्घ मानवअधिकार परिषद्मा उद्घाटन भाषणमा भन्नुभयो ।
उहाँले त्यहाँ बलात्कार र यौन हिंसा व्याप्त रहेको पनि बताउनुभयो ।
अहिले युद्धको चौथो वर्षमा प्रवेश गरेको सुडानमा भएको द्वन्द्वले दशौँ हजार मानिसको ज्यान लिएको छ भने एक करोड १० लाखभन्दा बढीलाई आन्तरिक वा बाह्यरूपमा विस्थापित हुन बाध्य बनाएको छ ।
