`

कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए

Nepal One HD २ असार २०८३ ८:२४
समाचार

कञ्चनपुर। कञ्चनपुरका स्थानीय तहहरूले नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, सङ्कलन तथा निकासी कार्यमा रोक लगाएका छन् ।

ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ (संशोधन २०७९) को दफा ४ उपदफा (१६) बमोजिम हरेक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्थाअनुसार स्थानीय तहहरूले उक्त कार्यमा रोक लगाएका हुन् ।

सोही व्यवस्था कार्यान्वयन गर्दै भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्रका सबै नदी, खोला तथा नालाबाट नदीजन्य पदार्थको उत्खनन, सङ्कलन, ढुवानी र निकासी कार्य बन्द गरेका छन् ।

वर्षायाममा नदीको प्राकृतिक बहाव संरक्षण, सम्भावित बाढी तथा डुबानको जोखिम न्यूनीकरण र वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले उक्त निर्णय कार्यान्वयनमा ल्याइएको जनाइएको छ ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले कानुनी व्यवस्थाअनुसार नगरपालिका क्षेत्रभित्रका महाकालीसहित सबै नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा रोक लगाइएको बताउनुभयो ।

“यस अवधिमा कुनै पनि व्यक्ति वा कम्पनीले नदीजन्य पदार्थ उत्खनन, सङ्कलन वा ओसारपसार गर्न पाउँदैनन्”, उहाँले भन्नुभयो, “यस सम्बन्धमा सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई जानकारी गराइसकिएको छ ।” उहाँका अनुसार वर्षायाम सुरु भएसँगै उत्खनन रोक्ने व्यवस्था लागू गरिएकाले नदीजन्य स्रोतको संरक्षण, नदीको प्राकृतिक स्वरूप कायम राख्न तथा बाढीजन्य जोखिम नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस्तै, बेदकोट नगरपालिकाले पनि सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म नगर क्षेत्रभित्रका नदी तथा खोलाबाट कुनै पनि प्रकारका नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ढुवानी तथा बिक्री वितरण गर्न नपाइने जनाएको छ । जारी सूचनामा उक्त अवधिभित्र कानुनविपरीत नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ढुवानी वा बिक्री वितरण गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने उल्लेख गरिएको छ ।

बर्सेनि वर्षायाममा लागू हुने यो व्यवस्थाले नदी तथा जलाधार क्षेत्रको संरक्षण, वातावरणीय सन्तुलन कायम राख्न र प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *