‘स्वीप अपरेसन’ १,४१० जना पक्राउ
काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौँले गत जेठ महिनामा सञ्चालन गरेको ‘स्वीप अपरेसन’ अन्तर्गत १ हजार ४१० जनालाई नियन्त्रणमा लिई कारबाही गरेको छ।
प्रहरी उपरीक्षक पवनकुमार भट्टराई का अनुसार काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको अभियानमा १९९ महिला, १ हजार २१८ पुरुष र ३ अन्य व्यक्तिलाई पक्राउ गरी कारबाही गरिएको हो।
अपराध न्यूनीकरण र शान्ति-सुरक्षा कायम गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अपरेसनका क्रममा ठमेल क्षेत्रबाट युगाण्डा, भियतनाम, थाइल्यान्ड, बङ्गलादेश र केन्याका २१ महिलालाई नियन्त्रणमा लिई डिपोर्ट गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई अश्लील गतिविधिमा संलग्न रहेको आरोपमा कारबाही गरिएको बताइएको छ।
प्रहरीका अनुसार जेठ महिनामा जम्मा १ हजार १६० मुद्दा दर्ता भएका छन्। तीमध्ये २५७ जघन्य तथा गम्भीर अपराध, ५१ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी, ४९४ आर्थिक अपराध र ३५८ अन्य प्रकृतिका मुद्दा रहेका छन्।
यस अवधिमा सम्पत्ति शुद्धीकरण सम्बन्धी एक मुद्दाको अनुसन्धान भइरहेको छ भने हुण्डीसम्बन्धी दुई मुद्दामा २० लाख ७५ हजार ५०० रुपैयाँ बिगो सहित मुद्दा दर्ता गरिएको छ।
जेठ महिनामा काठमाडौंमा ३०९ धर्ना, ७७ विरोध कार्यक्रम, ६ मसाल जुलुस, ४ रिले अनसन र ३ कोणसभा गरी कुल ४३४ राजनीतिक तथा सामाजिक कार्यक्रम भएको प्रहरीले जनाएको छ।
ती कार्यक्रम व्यवस्थापनका लागि १० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो।
सोही अवधिमा राजस्व चुहावट तथा भन्सार छलिका सामानहरू समेत बरामद गरिएको छ। जसमा हरियो केराउ, कोइला, चश्मा, बिस्कुट, मोबाइल र शक्तिवर्द्धक पेय पदार्थ गरी करिब २३ लाख ९९ हजार रुपैयाँ बराबरका सामग्री रहेका छन्।
साथै, दुई थान बन्दुक र ४६ राउन्ड गोलीसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
शान्ति सुरक्षाका लागि मोबाइल गस्ती, पैदल गस्ती, मोटरसाइकल गस्ती र अन्य अनुगमनसमेत गरी कुल ६७ हजार ९४९ प्रहरी परिचालन गरिएको परिसरले जानकारी दिएको छ।
