`

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत

Nepal One HD ३ असार २०८३ १९:५६
समाचार

दोधारा चाँदनी (कञ्चनपुर) – सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति १२ प्रतिशत पुगेको छ ।

एक वर्षअघि सुरु भएको सुक्खा बन्दरगाह निर्माणको हालसम्म १२.८५ प्रतिशत भौतिक प्रगति भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बन्दरगाहमा भन्सार, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माणलगायत संरचना निर्माणको काम भइरहेको छ । अहिले बन्दरगाहमा ट्रमिनल, भन्सार भवन र अन्य आवासीय संरचना निर्माण भइरहेका छन् ।

तोकिएका अवधि ३० महिनामै सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढिरहेको उक्त परियोजना निर्माण लागत भारतीय रुपैयाँमा दुई अर्ब ३७ करोड रहेको छ ।

दोधारा–चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनमा बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच सन् २०२३ जुन १ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, अध्यागमन र सुरक्षा भवनलगायत पूर्वाधार निमार्ण हुनेछ । नेपालतर्फ सुक्खा बन्दरगाहसम्म छ लेनको पहुँचमार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ भने भारतले पहुँचमार्ग निर्माण गरिरहेको छ । सुक्खा बन्दरगाह सञ्चालनमा आए सुदूरपश्चिममा थप विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *