राप्रपा कार्यालय खाली गर्न पूर्वउपाध्यक्ष दिलविकास राजभण्डारीको माग, लिङ्देनको सम्पत्तिमाथि पनि प्रश्न
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे केन्द्रीय कार्यालय खाली गर्न माग भएकाे छ । पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारीले अध्यक्ष राजेन्द्र लिङ्देनलाई खुला पत्र लेख्दै धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालय तत्काल खाली गर्न माग गरेका हुन् ।
राजभण्डारीले शशीकला स्मृति भवनस्थित राप्रपाको केन्द्रीय कार्यालय आफूले उपलब्ध गराएको निजी घरमा सञ्चालन भइरहेको उल्लेख गर्दै वर्तमान नेतृत्वको गतिविधिप्रति असन्तुष्टि जनाएका छन्। पार्टीलाई अघि बढाउन आफूले करोडौं मूल्यको घरजग्गा उपलब्ध गराएको भए पनि नेतृत्वले पार्टीलाई कमजोर बनाएको आरोप लगाउँदै अब उक्त भवन खाली गर्नुपर्ने बताएका छन्। उनले घर खाली गर्न कानुनी प्रक्रिया सुरु भइसकेको र ३५ दिने सूचना समेत दिइसकेको दाबी गरेका छन्।
खुला पत्रमा राजभण्डारीले अध्यक्ष लिङ्देनको आर्थिक हैसियत र सम्पत्तिको स्रोतबारे पनि प्रश्न उठाएका छन्। पहाडमा सामान्य आर्थिक अवस्था रहेको बताउँदै आएका लिङ्देनले छोटो अवधिमै काठमाडौंमा आलिशान भवन कसरी निर्माण गरे, इलाममा रिसोर्ट बनाउन र अमेरिकामा घर किन्न पैसा कहाँबाट आयो भन्ने प्रश्न उनले गरेका छन्।
राजभण्डारीले लिङ्देनमाथि यसअघि सार्वजनिक रूपमा उठाइएका गाडी चोरी, जग्गा हडपेको तथा समानुपातिक सिट बिक्री गरेको जस्ता आरोपबारे पनि स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। यस्ता आरोपमाथि पार्टी नेतृत्व मौन बसेकाले कार्यकर्तामाझ नेतृत्वको विश्वसनीयता कमजोर भएको उनको दाबी छ।
पत्रमा उनले पार्टीको पछिल्लो निर्वाचन परिणामलाई समेत नेतृत्वको असफलतासँग जोड्दै राप्रपाले भोगेको पराजयको नैतिक जिम्मेवारी अध्यक्ष लिङ्देनले लिनुपर्ने उल्लेख गरेका छन्।
राजभण्डारीको खुला पत्र सार्वजनिक भएसँगै राप्रपाभित्रको विवाद थप सतहमा आएको छ। यद्यपि पत्रमा लगाइएका आरोपबारे अध्यक्ष लिङ्देन वा राप्रपा नेतृत्वले हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।
यस्तो छ उनको पत्र :
राप्रपा अध्यक्ष श्री राजेन्द्र लिङ्देन तथा केन्द्रीय समितिलाई खुला पत्र
शशीकला स्मृति भवन, धुम्बाराही, काठमाडौं
मिति : २०८३/०३/०४
तपाईं राप्रपाको एजेन्डाप्रति इमानदार बन्नुहुनेछ, राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई उत्कर्षमा पुर्याउनुहुनेछ, र समान विचार समन्वयको नीति लिनुहुनेछ भन्ने विश्वासका साथ राप्रपाका नेता तथा कार्यकर्ताहरूले कमल थापालाई पराजित गर्दै तपाईंलाई अध्यक्ष पदमा जिताएका हौँ। तर तपाईंले हामी सबै हजारौँ कार्यकर्ताको भरोसामाथि घात गर्नुभएको छ। वर्तमान समयमा तपाईंले पार्टीका इमानदार नेता तथा कार्यकर्ताहरूमाथि कारबाहीको अनैतिक डन्डा बर्साइरहनुभएको छ। राप्रपाको इतिहासमै यो ज्यादै दुर्भाग्यपूर्ण घटना बन्न पुगेको छ, जसका कारण पार्टीमा गुट, फुट र विभाजनको अवस्था सिर्जना भएको छ। यसको सम्पूर्ण जिम्मेवारी तपाईं आफैँले लिनुपर्दछ।
फलस्वरूप, हालैको निर्वाचनको इतिहासमा राप्रपाले नराम्रो हार व्यहोर्नु मात्र परेन, ९७५ उम्मेदवारहरूको जमानत नै जफत हुन पुग्यो। समानुपातिकतर्फ तपाईंको आफ्नै मनपरी चल्यो। त्यसलाई सच्याउन माग गर्दा महिला नेता तथा कार्यकर्ताहरूमाथि तपाईंको धक्कामुक्का प्रहारबाट मरणासन्न भई अस्पतालमा उपचार गराउनुपरेको घटना कसैबाट छिपेको छैन। तपाईंले मलाई खुसी राख्ने उद्देश्यले उपाध्यक्ष पदमा मनोनीत गर्नुभयो, तर उपाध्यक्षमा मनोनीत भएपछि मैले गौरवको अनुभूति गर्न सकिनँ। बरु म सशङ्कित भएँ, किनकि त्यतिबेलासम्म तपाईंप्रतिको मेरो विश्वास टुटिसकेको थियो। परिणामस्वरूप, उपाध्यक्ष पदमा रहँदा ममा न त अपेक्षित गौरवको भावना रह्यो, न त आवश्यक सक्रियता नै कायम रहन सक्यो। यो सबै लेख्नु मेरो सोख नभएर बाध्यता हो।
तपाईंकै शब्द पैँचो लिँदा, पहाडमा पेटभरि ढिँडो खान नपुगेर अस्ति भर्खर मात्र मधेस झर्नुपरेको तपाईंको जीवनमा, यति छिट्टै राजधानीमा आलिशान भवन कसरी खडा भयो? इलाममा रिसोर्ट बनाउने आर्थिक स्रोत कहाँबाट जुटाउनुभयो? अनि अमेरिकामा घर किन्ने पैसा कहाँबाट आयो?
यति मात्र होइन, तपाईंमाथि गाडी चोरको आरोप छ। अर्काको जग्गा हडपेर खाएको, ज्यानसम्बन्धी मुद्दामा जेल सजायसमेत भोगेको र तपाईंले समानुपातिक सिट बेचेर निकै मोटो रकम कुम्ल्याएको आरोप लाग्दासम्म पनि पार्टीको अध्यक्षजस्तो जिम्मेवार व्यक्तिले सुनेको नसुन्यै गरी स्वीकार गर्दा पार्टीभित्रका नेता तथा कार्यकर्ताहरूको शिर निहुरिनु स्वाभाविक हो। तपाईंको यही गलत क्रियाकलापका कारण पार्टीले यस्तो नराम्रो हार व्यहोर्नुपरेको हो।
पार्टी अगाडि बढोस् भनेर मैले ठूलो आर्थिक भार व्यहोर्दै मेरो करोडौँको घरजग्गा सञ्चालन गर्न दिएको हुँ। यो मैले मेरो रगत–पसिनाको कमाइबाट बनाएको घर हो। यसमा बस्न लायक गुण र नैतिकता तपाईंमा रहेनछ। तपाईंले राप्रपा डुबाउनुभयो, त्यसैले ‘तपाईंलाई मेरो घरजग्गाबाट किन ननिकाल्ने?’ भन्ने मेरो अन्तरआत्माको पुकारअनुसार तुरुन्त मेरो घर खाली गरिहाल्नुहोस्।
साथै, २०७९ को निर्वाचनमा तपाईं र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले मबाट लगेको रकम रु. ४५ लाखमध्ये रु. १० लाख तपाईंको स्वकीय सचिव छत्र कठायतमार्फत फिर्ता गर्नुभयो। बाँकी रहेको रु. ३५ लाख रुपैयाँ आलटाल नगरी तुरुन्त फिर्ता दिनुहोस्। के तपाईं र कोषाध्यक्ष मिलेर मेरो रकम पचाउन खोज्नुभएको हो? यस्तो गर्नु आमाको रगत खाएसरह होइन र?
तसर्थ, धुम्बाराहीमा रहेको श्रीमती शशीकला स्मृति भवनस्थित राप्रपाको केन्द्रीय कार्यालय तुरुन्त खाली गरिदिनुहुन अनुरोध गर्दछु। कानुनी रूपमा ३५ दिने सूचनाको म्याद प्रभा लुइँटेलको नामबाट दिइसकिएको छ। केन्द्रीय समितिको बैठकले यस सन्दर्भमा न्यायोचित निर्णय गर्दै मेरो घर खाली गरिदिनेछ भन्ने विश्वास लिएको छु। अन्यथा, भविष्यमा कुनै पनि अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवारी तपाईं स्वयंले लिनुपर्नेछ।
दिलविकास राजभण्डारी
