`

एक महिनामै ७७ फरार प्रतिवादी पक्राउ

Nepal One HD ४ असार २०८३ १६:३८
अपराध

काठमाडौं । बाँके प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएर फरार रहेका ७७ जना प्रतिवादीलाई एक महिनाको अवधिमा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार गत जेठ महिनामा सञ्चालन गरिएको खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको हो।

पक्राउ परेका प्रतिवादीहरूबाट एक करोड ५९ लाख २३ हजार २७४ रुपैयाँ जरिवाना असुल हुने प्रहरीले जनाएको छ। साथै उनीहरूबाट १४ वर्ष एक महिना तीन दिन बराबरको कैद सजायसमेत कार्यान्वयन गराइनेछ।

अदालतले फैसला सुनाइसकेपछि पनि लामो समयसम्म फरार रहेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने सरकारी नीतिअनुसार विशेष अभियान सञ्चालन गरिएको प्रहरीको भनाइ छ। सोही अभियानअन्तर्गत लुकेर बसेका प्रतिवादीहरूको पहिचान गरी पक्राउ गरिएको बताइएको छ।

प्रहरीका अनुसार बाँकेमा पछिल्ला केही वर्षदेखि फरार प्रतिवादी पक्राउ अभियान निरन्तर सञ्चालन हुँदै आएको छ। यस क्रममा प्रत्येक महिना औसत २५ देखि ८० जनासम्म फरार प्रतिवादी पक्राउ पर्ने गरेका छन्।

अदालतबाट सजाय तथा जरिवाना तोकिए पनि फैसला कार्यान्वयनका लागि स्वयं उपस्थित नभएका व्यक्तिहरूको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ। फरार प्रतिवादीको खोजीका लागि विशेष टोली गठन गरेर नियमित रूपमा निगरानी र अनुसन्धान भइरहेको छ।

यसैबीच, जेठ महिनामा बाँके जिल्लामा कुल १५९ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १४ वटा जघन्य अपराध, ५२ वटा गम्भीर अपराध तथा बाँकी सामान्य प्रकृतिका मुद्दा रहेका छन्।

दर्ता भएका मुद्दामध्ये महिला तथा बालबालिकासम्बन्धी १३ वटा, ज्येष्ठ नागरिकसँग सम्बन्धित १४ वटा तथा आर्थिक अपराधसम्बन्धी ३४ वटा मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *