५ मिनेटको भिडियो कलपछि विवाह, ९ दिनमै सम्बन्ध विच्छेद ?
काठमाडौं। चीनको झेजियाङ प्रान्तका ३२ वर्षीय एक पुरुषले हतारमा गरेको विवाह नौ दिनमै संकटमा परेपछि अदालतको ढोका ढकढक्याएका छन्।
अभिभावकको दबाब र छिट्टै विवाह गर्ने चाहनाबीच केवल पाँच मिनेटको भिडियो कलका आधारमा जीवनसाथी रोजेका उनले अहिले आफू ठगिएको दाबी गरेका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार गु थरका ती पुरुषले विवाहका लागि म्याचमेकिंग सेन्टरमा २०० युआन तिरेर नाम दर्ता गरेका थिए। सेन्टरले छोटो समयमै उपयुक्त जोडी भेटाइदिने आश्वासन दिएपछि परिवार पनि यस प्रक्रियामा सहमत भएको थियो।
गत अप्रिलमा उनलाई शान्सी प्रान्तकी ३० वर्षीया महिलासँग भिडियो कलमार्फत जोडिएको थियो। महिलाको विवरणमा कुनै आपराधिक रेकर्ड वा आर्थिक समस्या नरहेको उल्लेख गरिएको थियो। साथै उनी छिटो विवाह गर्न इच्छुक रहेको जानकारी पनि दिइएको थियो। म्याचमेकरको उपस्थितिमै करिब पाँच मिनेटको भिडियो संवादपछि दुवै पक्ष विवाहका लागि तयार भएका थिए।
रिपोर्टअनुसार विवाह प्रक्रिया पूरा गर्न युवकले दुलही पक्षलाई दिइने रकम, म्याचमेकिंग सेवा शुल्क तथा अन्य खर्च गरी कुल दुई लाख ६५ हजार युआन खर्च गरेका थिए। प्रत्यक्ष भेटघाट नै नगरी उनीहरूले कानुनी रूपमा विवाह दर्ता गरेका थिए।
तर विवाहपछि परिस्थिति बदलिन थाल्यो। युवकका अनुसार म्याचमेकिंग सेन्टरले विवाहअघि उपलब्ध गराउने भनेका केही महत्वपूर्ण कागजात उपलब्ध गराएन। त्यसपछि उनले आफ्नी श्रीमतीको आर्थिक अवस्था बुझ्ने प्रयास गर्दा उनीमाथि करिब एक लाख युआन बराबरको ऋण रहेको जानकारी पाए।
महिलाले उक्त ऋण आफ्नो पूर्व प्रेमीसँग सम्बन्धित रहेको दाबी गरेकी थिइन्। यसबाहेक उनको स्वास्थ्य अवस्थासम्बन्धी केही जानकारी पनि विवाहअघि लुकाइएको हुन सक्ने आशंका युवकले व्यक्त गरेका छन्।
विवाह भएको नौ दिनमै युवकले सम्बन्ध विच्छेदको प्रस्ताव राखेका थिए। प्रारम्भिक चरणमा महिला सहमत भएको बताइए पनि पछि उनले अदालतमा मुद्दा दायर गरिन्। उनले आफू मानसिक तनाव र डिप्रेसनबाट गुज्रिरहेको दाबी गर्दै ५० हजार युआन क्षतिपूर्ति माग गरेकी छन्।
महिलाले आफ्नो निवेदनमा श्रीमान्ले आफूलाई मेकअप गर्न, घरधन्दा सम्हाल्न तथा छिट्टै रोजगारी खोज्न दबाब दिएको आरोपसमेत लगाएकी छन्। यद्यपि युवकले ती आरोप अस्वीकार गरेका छन्।
अर्कोतर्फ, युवकले आफूलाई गलत सूचना दिएर विवाह गराइएको दाबी गर्दै म्याचमेकिंग सेन्टरविरुद्ध पनि कानुनी प्रक्रिया अघि बढाएका छन्। उनले सेन्टरसँग एक लाख ६० हजार युआन सेवा शुल्क फिर्ता माग गरेका छन्। तर सेन्टरले विवाह सम्पन्न भइसकेकाले रकम फिर्ता नहुने अडान लिएको छ।
घटनाले चीनका सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। धेरै प्रयोगकर्ताले विवाहजस्तो महत्वपूर्ण निर्णय अत्यन्त छोटो चिनजानका आधारमा गर्नु जोखिमपूर्ण हुने टिप्पणी गरेका छन्।
