`

बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक

Nepal One HD ६ असार २०८३ १९:१५
विश्व

ढाका। बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश भ्रमणका रूपमा मलेसिया र चीनको भ्रमण गर्नुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उहाँले छिमेकी भारतमा प्रारम्भिक गन्तव्यका रूपमा नगई सो भ्रमण गर्न लाग्नुुभएको हो ।

प्रधानमन्त्री रहमान आइतबार मलेसिया प्रस्थान गर्नुहुने र त्यसपछि भोलिपल्ट चीनको राजधानी बेइजिङ पुग्ने कार्यतालिका रहेको बङ्गलादेशी सरकारी समाचार संस्था (बिएसएस)ले परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।

प्रधानमन्त्री रहमान बेइजिङमा रहँदा व्यापार तथा पूर्वाधारसम्बन्धी विषयहरू छलफलको मुख्य ‘एजेन्डा’ रहने बताइएको छ । त्यसमा दीर्घकालदेखि अल्झिएको टिस्टा नदी परियोजनामा चिनियाँ सहयोगसमेत समावेश हुन सक्ने जनाइएको छ । उक्त परियोजना नदी व्यवस्थापन, ड्रेजिङ, तटबन्ध निर्माण र सिँचाइ सुधारसँग सम्बन्धित छ ।

परराष्ट्र मन्त्रालयले यी भ्रमणलाई बङ्गलादेशको आर्थिक साझेदारी सुदृढ गर्ने उद्देश्यले गरिएको महत्वपूर्ण कूटनीतिक पहलका रूपमा व्याख्या गरेको बिएसएसले जनाएको छ ।

मलेसियामा करिब आठ लाख बङ्गलादेशी कामदार कार्यरत छन्, जुन त्यहाँको विदेशी श्रमशक्तिको एक तिहाइभन्दा बढी हो ।

सन् २०२४ को राजनीतिक परिवर्तनपछि बङ्गलादेश–भारत सम्बन्धमा तनाव देखिएको छ । त्यतिबेला तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि नयाँ राजनीतिक परिस्थिति बनेको थियो ।

हालका प्रधानमन्त्री रहमानले गत फेब्रुअरीमा सम्पन्न निर्वाचनपछि सत्ता सम्हालेसँगै छिमेकी भारतसँग सम्बन्ध सुधारको प्रयास भइरहेको भए पनि केही विषयमा असमझदारी कायमै रहेको बताइएको छ ।

हसिना भारतमा आश्रयरत रहनुभएको र बङ्गलादेशले उहाँको सुपुर्दगी माग गर्दै आएको विषयले पनि दुई देशबीच कूटनीतिक तनाव बढाएको जनाइएको छ ।

सीमा क्षेत्रमा अवैध आप्रवासनसम्बन्धी विवादले समेत सम्बन्धलाई प्रभावित पारेको छ । यसैबीच, दक्षिण एसियामा प्रभाव विस्तारका लागि भारत र चीनबीच प्रतिस्पर्धा जारी रहेको विश्लेषकहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *