`

राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो

Nepal One HD ७ असार २०८३ २१:२०
अर्थ समाचार

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी भर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दग्नाम र झिँको सिमानामा पर्ने बाँधबाट पिप्लेस्थित तेस्रो अडिटसम्मको मुख्य सुरुङमा पानी भर्न थालिएको हो।

रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाको निर्माण सकिएका भौतिक संरचनाको परिक्षण गर्नेक्रम जारी रहेको जनाउँदै छ किलोमिटर दुई सय ७० मिटर मुख्य सुरुङमा पानी भर्न थालिएको बताए। “पहिलो दिन एक हजार ६०० मिटर सुरुङमा पानी भरेका छौँ । करिब चार दिनमा सबै सुरुङमा पानी भरेर १५ दिनपछि सञ्चालन योग्य बनाउने कार्यतालिका छ”, उनले भने, “सात वर्षको प्रयासपछि यो आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्नुलाई महत्वपूर्ण उपलब्धि मानेका छौँ ।”

यसअघि बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी) र स्वीचयार्डको सफल परीक्षण भइसकेको आयोजनाले करिब १५ दिन सुरुङमा पानी भरेपछि कुनै समस्या नआएमा त्यसलगत्तै विद्युत्गृहमा रहेका २०/२० मेगावाट क्षमताका दुईमध्ये एक वटा युनिटबाट परीक्षणका लागि विद्युत् उत्पादनको तयारी गरिएको प्रबन्ध सञ्चालक केसीले जानकारी दिए।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नम्बर ५ झिँको फेदीमा बाँध र दुई वटा पानी थिग्र्याउने पोखरीको परिक्षण भइसकेको छ । भौतिक संरचना र विद्युत्‌गृहका उपकरणको परीक्षणपछि आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्ने उनले बताए।

तिल्केनीचौरमा विद्युत्गृह निर्माण सकेर रङरोगन गर्न थालिएको छ । २० मेगावाटको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका पाटपुर्जा जडान अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत्‌गृह परिसरमा निर्माण भएको स्वीचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको प्रबन्ध सञ्चालक केसीले जानकारी दिए।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) रु छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । पटकपटक गरी सन् २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो। चौँथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न गराउने लक्ष्य अनुसार काम भइरहेको प्रबन्ध सञ्चालक केसीले बताए।

कोरोना महामारी, बाढी, पहिरोलगायत प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए। भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग वि.सं. २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता भएको थियो।

भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो। पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो।

राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना-कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ। चार वटा टावर र प्रसारण लाइन पनि बनिसकेको आयोजना कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *