काभ्रेका विदुर दाहाल रास्वपा केन्द्रीय सदस्य पदको दौडमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) को केन्द्रीय सदस्य पदका लागि काभ्रेपलाञ्चोकका विदुर दाहालले उम्मेदवारी घोषणा गरेका छन्। खानीखोला गाउँपालिकामा जन्मिएका दाहाल लामो समयदेखि समाजसेवा, जनचासोका विषय तथा संगठन निर्माणमा सक्रिय रहँदै आएका छन्। पार्टी स्थापना कालदेखि नै रा.स्व.पा.मा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनले संगठन विस्तार, सदस्यता अभियान, जनसम्पर्क तथा पार्टी सुदृढीकरणका विभिन्न गतिविधिमा योगदान पुर्याएको बताइएको छ।
दाहालले २०७९ सालको निर्वाचन तथा २०८२ को निर्वाचन अभियानमा पनि संगठनात्मक जिम्मेवारी सम्हालेका थिए । व्यवस्थापन विषयमा स्नातक तहसम्म अध्ययन गरेका उनी व्यवसायिक रूपमा मोबाइल व्यवसायमा संलग्न छन्।
हाल बनेपा निवासी दाहाल सामाजिक उत्तरदायित्व, सुशासन, पारदर्शिता र जवाफदेहिताका पक्षमा निरन्तर आवाज उठाउँदै आएको बताउँछन्। पार्टीको मूल्य–मान्यता र सदस्यहरूको हितलाई केन्द्रमा राखेर सक्षम, समावेशी तथा उत्तरदायी संगठन निर्माण गर्ने उद्देश्यका साथ आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको उनको भनाइ छ। उनले आफ्नो चुनावी नाराका रूपमा ‘विश्वासको आधार, परिवर्तनको नेतृत्व’ तय गरेका छन्।
