`

रास्वपा महाधिवेशन गन्जागोल : दोस्रो चरणमा कुन-कुन पदमा हुँदैछ भिडन्त ?

Nepal One HD ११ असार २०८३ १४:४४
बिशेष

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि भएको मतदान सम्पन्न भएसँगै पार्टी दोस्रो चरणको निर्वाचन तयारीमा जुटेको छ।

रास्वपाका प्रवक्ता मनिष झाले केन्द्रीय सदस्यको निर्वाचन प्रक्रिया सकिएलगत्तै पदाधिकारी चयनतर्फको तयारी अघि बढाइएको जानकारी दिएका छन्। उनका अनुसार निर्वाचन आयोगले अपराह्न ४ बजेदेखि दोस्रो चरणको मतदान गराउने लक्ष्यसहित आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम गरिरहेको छ।

महाधिवेशनअन्तर्गत यसअघि सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाह सर्वसम्मत चयन भइसकेका छन्। अब पार्टीको नेतृत्व संरचनाका अन्य महत्वपूर्ण पदका लागि निर्वाचन हुने भएको छ।

दोस्रो चरणमा दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि मतदान हुनेछ। रास्वपाको विधानअनुसार १९ सदस्यीय पदाधिकारी संरचना रहेको छ। तीन उपसभापतिमध्ये एक जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ भने दुई जना निर्वाचनबाट चयन गरिनेछन्। त्यसैगरी दुई महामन्त्रीमध्ये एक जना निर्वाचनबाट र अर्को एक जना मनोनयनमार्फत चयन हुने व्यवस्था रहेको छ।

यस्तै पाँच सहमहामन्त्रीमध्ये तीन जना निर्वाचनबाट र दुई जना सभापतिले मनोनयन गर्ने प्रावधान पार्टी विधानमा उल्लेख छ। यस कारण दोस्रो चरणको निर्वाचनबाट चयन हुने पदाधिकारीहरूले आगामी नेतृत्व संरचनाको महत्वपूर्ण हिस्सा ओगट्नेछन्।

यसअघि सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा कुल २ हजार ९५९ मत खसेको थियो। रास्वपाका ४ हजार ३११ प्रतिनिधिमध्ये १ हजार ३५२ जना मतदान प्रक्रियामा सहभागी भएनन्।

अपेक्षाभन्दा कम मतदान भएपछि प्रतिनिधिको सहभागितालाई लिएर महाधिवेशनस्थलमा विभिन्न टिप्पणीसमेत भइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *