‘डङ्की : सपनाको कालबाटो’ उपन्यास सार्वजनिक
काठमाडौं। लेखक डा. चन्द्र गिरीको नयाँ उपन्यास ‘डङ्की : सपनाको कालबाटो’ आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ।
कार्यक्रममा लेखक गिरीसँगै मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धराबासी, पत्रकार तथा लेखक वसन्त बस्नेत, लेखिका बिना थिङ र साहित्यकार शंकर गिरी पथिकले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन्।
लोकार्पण कार्यक्रममा वक्ताहरूले उपन्यासले वैदेशिक आप्रवासन, राम्रो भविष्यको खोजीमा गरिने जोखिमपूर्ण यात्रा र त्यसक्रममा भोग्नुपर्ने मानवीय संघर्षलाई यथार्थपरक ढंगले प्रस्तुत गरेको धारणा राखे। उनीहरूका अनुसार पुस्तकले अवसरको खोजीमा देश छाड्ने युवाको मनोविज्ञान र यात्राका विविध आयामलाई साहित्यिक शैलीमा चित्रण गरेको छ।
उपन्यासमा इलामका एक युवाले अमेरिका पुग्ने उद्देश्यले रोजेको ‘डङ्की रूट’ र त्यस क्रममा उनले भोगेका चुनौती, संघर्ष र अनुभवलाई कथावस्तुको केन्द्रमा राखिएको छ।
बुकहिल पब्लिकेसनद्वारा प्रकाशित यो कृति लेखक गिरीको तेस्रो प्रकाशित पुस्तक हो।
यसअघि उनका ‘मैले नदेखेको सपना’ (आत्मकथा) र ‘संसारको सेरोफेरो’ (यात्रा संस्मरण) पाठकमाझ आइसकेका छन्।
