मंगल ग्रहमा ‘म्याक्रोमोलिक्युलर कार्बन’ फेला परेपछि…
एजेन्सी। नासाको ‘पर्सिभरेन्स’ रोभरले मंगल ग्रहमा जटिल संरचनायुक्त म्याक्रोमोलिक्युलर कार्बन फेला पारेको छ।
वैज्ञानिकहरूका अनुसार यो खोज मंगल ग्रहमा कुनै समय जीवनको सम्भावना रहेको हुन सक्ने संकेतका रूपमा हेरिएको भए पनि यसले त्यहाँ जीवन थियो भन्ने प्रत्यक्ष प्रमाण भने प्रस्तुत गर्दैन।
अनुसन्धान टोलीले मंगल ग्रहको प्राचीन भूगर्भीय इतिहास अध्ययन गर्ने क्रममा नयाँ प्रमाणहरू फेला पारेको हो। ‘पर्सिभरेन्स’ रोभरले मंगलको ‘जेजेरो क्रेटर’ क्षेत्रमा रहेका माटोयुक्त चट्टानहरूको अध्ययन गर्दा जटिल कार्बन अणु पहिचान गरेको हो। कार्बन पृथ्वीमा ज्ञात सबै जीवित प्राणीहरूको आधारभूत रासायनिक तत्व भएकाले यो खोजलाई वैज्ञानिकहरूले निकै महत्त्वपूर्ण मानेका छन्।
अनुसन्धानकर्ताहरूका अनुसार मंगल ग्रहमा अहिलेसम्म पत्ता लागेको जैविक पदार्थमध्ये यो सबैभन्दा धेरै मात्रामा भेटिएको जटिल कार्बन हो। यद्यपि कार्बनको उपस्थिति मात्रले त्यहाँ जीवन अस्तित्वमा थियो भन्ने पुष्टि नगर्ने उनीहरूको भनाइ छ। तर कार्बन फेला परेको स्थानले अनुसन्धानलाई थप रोचक बनाएको छ। यही क्षेत्र नजिकै नासाले सन् २०२५ मा सम्भावित जैविक संकेतहरू पनि सार्वजनिक गरेको थियो।
यस अध्ययनको निष्कर्ष जुन २४ मा ‘साइन्स एडभान्सेस’ जर्नलमा प्रकाशित भएको हो। अध्ययनअनुसार अरबौँ वर्षअघि ‘जेजेरो क्रेटर’ मा नदी बग्थे र त्यहाँ ठूलो ताल रहेको हुन सक्ने प्रमाण भेटिएको छ। त्यसैले उक्त क्षेत्रलाई मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने सबैभन्दा महत्त्वपूर्ण स्थानमध्ये एक मानिएको छ।
अनुसन्धानकर्ता एश्ली मर्फीका अनुसार यसअघि ‘नेचर’ जर्नलमा प्रकाशित अर्को अध्ययनले पनि जेजेरोको ‘ब्राइट एन्जेल’ क्षेत्रमा रहेका चट्टानमा माटो तथा पृथ्वीमा जीवाश्म संरक्षण गर्न सक्ने खनिजहरू रहेको देखाएको थियो। त्यहाँ रहेको ‘चेयाभा फल्स’ नामक चट्टानमा पृथ्वीका सूक्ष्मजीवहरूले छोड्ने आकृतिसँग मिल्दोजुल्दो बनावट पनि भेटिएको थियो। यद्यपि ती संरचना जैविक प्रक्रियाबाटै बनेका हुन् भन्ने पुष्टि हुन सकेको छैन।
नयाँ अध्ययनमा रोभरमा जडित ‘शर्लोक’ उपकरण प्रयोग गरी कार्बनको वितरण विश्लेषण गरिएको थियो। त्यसको नतिजालाई नासाको ‘क्युरियोसिटी’ रोभरले मंगलको ‘गेल क्रेटर’ बाट संकलन गरेको तथ्याङ्कसँग तुलना गरिएको थियो। यसले प्राचीन मंगल ग्रहमा पानी व्यापक रूपमा फैलिएको हुन सक्ने संकेतलाई थप बल दिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
अध्ययनमा फेला परेको कार्बन अत्यधिक क्षय नभएको पनि देखिएको छ। त्यसका आधारमा यो सामग्री हालै मात्र सतहमा आएको हुन सक्ने अनुमान गरिएको छ। तर यसको उत्पत्ति जैविक हो वा अजैविक भन्ने विषय अझै खुल्न बाँकी छ। वैज्ञानिकहरूका अनुसार यस्ता कार्बन अणु सूक्ष्मजीवहरूको अवशेषबाट बनेका हुन सक्छन् भने उल्कापिण्डको प्रभाव, रासायनिक प्रतिक्रिया वा पानीसँग सम्बन्धित प्राकृतिक प्रक्रियाबाट पनि बन्न सक्ने सम्भावना रहन्छ।
यसको वास्तविक स्रोत पत्ता लगाउन मंगल ग्रहबाट संकलित चट्टानका नमुना पृथ्वीमा ल्याएर अत्याधुनिक प्रयोगशालामा परीक्षण गर्नुपर्ने वैज्ञानिकहरूको निष्कर्ष छ। यही उद्देश्यका लागि नासा र युरोपेली अन्तरिक्ष एजेन्सीले संयुक्त रूपमा ‘मार्स स्याम्पल रिटर्न’ अभियान सञ्चालन गर्ने योजना बनाएका थिए। तर सन् २०२६ को अमेरिकी बजेट प्रस्तावमा उक्त परियोजनाको खर्च अत्यधिक भएको भन्दै बजेट कटौतीको प्रस्ताव आएपछि अभियान अन्योलमा परेको छ।
यसबीच मंगल ग्रहबाट नमुना पृथ्वीमा ल्याउने पहिलो सफलता चीनले हासिल गर्न सक्ने सम्भावना बढेको छ। चीनले आफ्नो ‘तियानवेन-३’ अभियानमार्फत सन् २०२८ पछि मंगल ग्रहबाट चट्टानका नमुना संकलन गरी पृथ्वीमा ल्याउने लक्ष्य राखेको छ।
यद्यपि उक्त अभियानले ‘पर्सिभरेन्स’ रोभरले अध्ययन गरेको स्थानभन्दा फरक क्षेत्रमा नमुना संकलन गर्ने योजना बनाएको बताइएको छ।
