सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन
काठमाडौं। जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण संरचनाका सुरुङभित्र फसेकाको उद्धारमा सहयोग पुर्याउन स्विट्जरल्यान्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।
स्विट्जरल्यान्डको ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले बनाएको उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विशेष आग्रहमा ल्याइएको ड्रोन स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञले प्राधिकरणलाई बुझाएका हुन्।
मानिस सहजै पुग्न नसक्ने साँघुरा र अँध्यारा सुरुङभित्र प्रवेश गरी अवस्थाको निगरानी गर्न यो ड्रोन सक्षम छ। ड्रोनमा जडान गरिएको विशेष सुरक्षात्मक घेराका कारण सुरुङका भित्ता वा चट्टानमा ठोक्किँदा पनि क्षति नपुगी उडान जारी राख्न सक्छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार यस प्रविधिको प्रयोगले सुरुङभित्र उद्धार टोली पठाउनुअघि जोखिमको अवस्था पहिचान गर्न र फसेका व्यक्तिको खोजी गर्न सहज हुनेछ।
जोखिमपूर्ण स्थानमा उद्धारकर्मीको ज्यान जोखिममा नपारी प्रविधिमार्फत प्रारम्भिक खोज तथा निरीक्षण गर्न सकिने प्राधिकरणको भनाइ छ।
