होल्डिङ सेन्टरबाट पक्राउ परेका डम्बरको रिहाईका लागि माइतीघरमा प्रदर्शन(तस्बिरहरु)
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै दिएको अभिव्यक्तिपछि पक्राउ परेका डम्बरबहादुर तामाङको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
तामाङकी श्रीमती गायत्रीसहित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता–कार्यकर्ताले सोमबार प्रदर्शन गर्दै उनलाई झुक्याएर पक्राउ गरिएको आरोप लगाए। प्रदर्शनकारीहरूले तामाङलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको दाबी गर्दै तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
उनीहरूले पक्राउ प्रक्रियामाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिनको मागसमेत गरेका छन्। प्रदर्शनका क्रममा तामाङविरुद्ध लगाइएको आरोप फिर्ता लिन र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने नाराबाजी गरिएको थियो।
प्रहरीले भने प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै सिंहदरबारमा खुकुरी लिएर प्रवेश गर्ने अभिव्यक्ति दिएको आरोपमा तामाङलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। यस घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।















