आफ्नै बुबा र भिनाजु फसाउन छिमेकीको हत्या : एक युवक पक्राउ
सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–१ मानपुरका २५ वर्षीय सन्तोषकुमार राय छिमेकीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका रायलाई सार्वजनिक गरेको हो। उनीमाथि छिमेकी ५३ वर्षीय होसनारायण राय यादवको हत्या गरेको आरोप लागेको छ।
सर्लाही प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ पौडेलका अनुसार प्रारम्भिक अनुसन्धानमा रायले आफ्नै बुबा र भिनाजुलाई फसाउने उद्देश्यले हत्या गरेको स्वीकार गरेका छन्।
प्रहरीका अनुसार ७ असारको राति भैंसीगोठमा सुतिरहेका यादवमाथि धारिलो हतियार (हँसिया) प्रहार गरिएको थियो। घाँटीमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको अनुसन्धानका क्रममा घटनास्थल आसपासका सीसीटीभी फुटेज विश्लेषण गरेपछि रायमाथि शंका केन्द्रित भएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका उनलाई १६ असारमा बरहथवा नगरपालिका–७ बाट पक्राउ गरिएको हो।
प्रारम्भिक सोधपुछका क्रममा रायले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ। उनले मोबाइल खरिदका लागि पैसा माग्दा बुबासँग विवाद हुने गरेको र परिवारका सदस्यले सुधार केन्द्र पठाइदिने धम्की दिने गरेकाले उनीहरूप्रति आक्रोश बढ्दै गएको बयान दिएका छन्।
अनुसन्धानका क्रममा घटनाकै राति चोरी भएको ना४५प २६८५ नम्बरको मोटरसाइकल ८ असारमा लालबन्दी नगरपालिका–२ नवलपुर क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको थियो। उक्त मोटरसाइकल छिमेकी हरिन्द्रराम यादवको रहेको र अभियुक्तले हत्या गर्नकै लागि चोरी गरी प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले रायविरुद्ध कर्तव्य ज्यान तथा चोरीसम्बन्धी मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
