रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत विकास गरिएको ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई जानकारी गराएको छ।
सभापति रवि लामिछानेको उपस्थितिमा सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा ‘पल्स आरएसपी’ प्रणालीको उद्देश्य, सञ्चालन प्रक्रिया, उपयोगिता तथा पार्टीको डिजिटल रूपान्तरणमा यसले खेल्ने भूमिकाबारे विस्तृत प्रस्तुति गरिएको हो।
बैठकमा सांसदहरूलाई साइबर सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले डिजिटल सुरक्षा, डाटा संरक्षण, अनलाइन जोखिम व्यवस्थापन तथा सुरक्षित डिजिटल अभ्यासका विषयमा समेत जानकारी दिइएको छ।
रास्वपाले पार्टीको सदस्यता व्यवस्थापन, आन्तरिक समन्वय, सूचना आदानप्रदान तथा संगठनात्मक गतिविधिलाई प्रविधिमैत्री, व्यवस्थित र सुरक्षित बनाउन ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्म विकास गरेको जनाएको छ।
पार्टीका अनुसार डिजिटल प्रणालीको प्रभावकारी प्रयोगसँगै जनप्रतिनिधिहरूको साइबर सुरक्षा सचेतना अभिवृद्धि गर्न यस्ता अभिमुखीकरण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।















