`

राहदानी विभाग नयाँ प्रणालीमा जाँदै, केही दिन सेवा प्रभावित हुने

Nepal One HD २० असार २०८३ ९:१८
बिशेष

काठमाडौं । राहदानी विभागले राहदानी जारी गर्ने प्रणाली स्तरोन्नति गर्दै नयाँ प्रणाली लागू गर्ने तयारी गरेको छ। प्रणाली परिवर्तनका कारण केही दिनका लागि देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा प्रभावित हुने भएको छ।

विभागले बिहीबार जारी गरेको जरुरी सूचनाअनुसार आगामी असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन गरिनेछ। यसअघि नै प्रणाली परिवर्तनका क्रममा सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जानकारी विभागले सार्वजनिक गरिसकेको थियो।

सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म तीन दिनका लागि पूर्ण रूपमा बन्द रहनेछ।

यस्तै, राहदानी विभाग बाट प्रत्यक्ष रूपमा प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते दुई दिनका लागि स्थगित हुनेछ।विभागले नयाँ प्रणाली लागू भएपछि सेवा प्रवाह थप सुरक्षित, प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गरेको छ।प्रणाली स्तरोन्नतिको अवधिमा सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै विभागले आवश्यक सहयोग र सहकार्यका लागि सबैमा अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *