सांसद केसीविरुद्ध बोल्नेलाई धुइँधुइँती खोज्दै प्रहरी
काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद धर्म केसीविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि आफूविरुद्ध साइबर ब्युरोमा उजुरी परेको भन्दै लमजुङका युवा हरि पौडेलले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाएका छन्।
पौडेलले सांसद केसीको गतिविधिको आलोचना गरेपछि आफूलाई पक्राउ गर्ने तयारी भइरहेको दाबी गरेका छन्। उनका अनुसार यस विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरिएको छ।
पौडेलले सरकार र जनप्रतिनिधिप्रति नागरिकको हैसियतले प्रश्न उठाउनु आफ्नो अधिकार भएको उल्लेख गर्दै त्यसकै कारण आफू कानुनी प्रक्रियामा तानिन लागेको गुनासो गरेका छन्।
‘जेनजी आन्दोलनको अगुवा र सचेत नागरिकका रूपमा मैले सरकार र सांसद धर्म केसीका गतिविधिबारे प्रश्न उठाएको थिएँ। तर, त्यसकै कारण मविरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ,’ उनले भने।
उनले सरकार र निर्वाचित जनप्रतिनिधिको आलोचना वा खबरदारी गर्नु लोकतान्त्रिक अभ्यासको हिस्सा भएको उल्लेख गर्दै त्यसलाई अपराधका रूपमा लिन नहुने धारणा राखे।
‘के सरकारको समर्थन मात्रै गर्नुपर्ने हो ? प्रश्न उठाएकै कारण मुद्दा खेप्नुपर्ने र थुनिनुपर्ने हो ?’ उनले प्रश्न गरे।
पौडेलका अनुसार आफूलाई केही दिनयता प्रहरीले खोजिरहेको जानकारी प्राप्त भएको छ। आवश्यक परे कानुनी प्रक्रिया सामना गर्न तयार रहेको बताउँदै उनले लोकतान्त्रिक व्यवस्थामा फरक मत राख्न पाउने अधिकार सुरक्षित हुनुपर्ने धारणा व्यक्त गरे।
उनले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेकै आधारमा नागरिकमाथि कारबाही हुने अवस्था आएको हो कि भन्ने चिन्ता पनि व्यक्त गरेका छन्।
पौडेलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको राजनीतिक अभियानमा आफूले विगतमा समर्थन गरेको स्मरण गर्दै अहिले त्यही नेतृत्वको सरकारबाट दबाब महसुस गरेको दाबी गरे।
यद्यपि, यस विषयमा साइबर ब्युरो वा सम्बन्धित सरकारी निकायले उजुरी, अनुसन्धान वा पक्राउ प्रक्रियाबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।
