`

प्रलोभन देखाएर बिरामी निजी अस्पताल लैजाने १२ जना पक्राउ

Nepal One HD २४ असार २०८३ १४:३९
अपराध

विराटनगर। उपचारका लागि आएका बिरामीलाई प्रलोभन देखाएर निजी स्वास्थ्य संस्थामा लैजाने गरेको आरोपमा प्रहरीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट १२ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरूले प्रतिष्ठानमा उपचारका लागि आएका बिरामी तथा उनका आफन्तलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने बहाना बनाउँदै निजी अस्पताल तथा मेडिकलतर्फ लैजाने प्रयास गरिरहेका थिए। यसबारे सूचना प्राप्त भएपछि प्रहरीले निगरानी बढाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धरान–१८ का २७ वर्षीय निखिलकुमार चौधरी, सप्तरीको राजविराज–६ की २७ वर्षीया रबिना मण्डल, भोजपुरको आमचोक-८ का २५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षीय सागर पोखरेल, मोरङको लेटाङ–३ का २९ वर्षीय सानिन किराँती, धरान–६ का २३ वर्षीय मनिष बुढाथोकी, उदयपुरको चौदण्डीगढी–५ का ४० वर्षीय उपेशकुमार चौधरी, धरान–१७ का ३५ वर्षीय धिरज निरौला, इटहरी–२ का ३१ वर्षीय रोहित मेहता र धरान–११ का २८ वर्षीय विनोद भट्टराई रहेका छन्। प्रहरीले अन्य दुई जनालाई पनि यही आरोपमा पक्राउ गरेको जनाएको छ।

उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १० दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय धरानले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *