किन पक्राउ परे एकैसाथ १६ बिचौलिया?
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट बिरामीलाई निजी अस्पताल तथा मेडिकलतर्फ पठाएर अवैध कमिसन लिने आरोपमा १२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक बबिन राईका अनुसार प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सस्तोमा औषधि उपलब्ध गराइदिने, छिटो उपचार गराइदिने तथा निजी अस्पतालमा सहज सेवा मिलाइदिने भन्दै प्रलोभनमा पारेर आर्थिक चलखेल भइरहेको भन्ने जनगुनासो आएपछि प्रहरीले विशेष निगरानी थालेको थियो।
सोही क्रममा प्रतिष्ठानको इमर्जेन्सी भवनअगाडि बिचौलियाको गतिविधिमा संलग्न रहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सर्लाहीको अर्नीसाइर कृष्णासवरण गाउँपालिका–३ का ३७ वर्षीय रञ्जितकुमार चौधरी, सप्तरीको राजविराज नगरपालिका–६ की २७ वर्षीया रबिना मण्डल, भोजपुरको आमचोक गाउँपालिका–८ का ३५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षीय सागर पोखरेल, मोरङको लेटाङ–३ का २९ वर्षीय सानिम किराती, धरान–६ का २३ वर्षीय मनिष बुढाथोकी, उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का ४० वर्षीय उमेशकुमार चौधरी, धरान–१७ का ३५ वर्षीय धिरोज निरौला, इटहरी–२ का ३२ वर्षीय रोहित मेहता तथा धरान–११ का १८ वर्षीय विनोद भण्डारी रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका अन्य दुई जनाको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
