कानुन नागरिकको पहुँचमा छैन, एकै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराइयाेस् : बास्काेटा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले कानुन र सरकारी सूचना नागरिकको सहज पहुँचभन्दा टाढा रहेको भन्दै सरकारले सबै सार्वजनिक सूचनालाई एउटै डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कानुनको पालना सुनिश्चित गर्नुअघि नागरिकलाई कानुन र सरकारी सूचनामा सहज पहुँच उपलब्ध गराउनु राज्यको दायित्व भएको बताइन्।
‘हामी भन्छौँ कानुनको अज्ञानता क्षम्य हुँदैन। तर वास्तविकता के हो भने कानुन आफैं नागरिकको सहज पहुँचभन्दा धेरै टाढा छ। कानुन मात्रै होइन, सरकारबाट जारी हुने आधिकारिक सूचना, निर्णय, निर्देशिका वा सार्वजनिक जानकारीसमेत सहज पहुँचमा उपलब्ध छैनन्,’ उनले भनिन्।
उनले सूचना नागरिकसम्म समयमै र सरल रूपमा नपुग्दासम्म कानुनको पालना र नागरिकको उत्तरदायित्व मात्रै अपेक्षा गर्नु न्यायसंगत नहुने धारणा राखिन्।
‘जबसम्म सूचना नै नागरिकसम्म समयमै सरल रूपमा पुग्दैन, कानुनको पालना र नागरिकको उत्तरदायित्व मात्रै अपेक्षा गर्नु न्यायसंगत हुँदैन,’ सांसद बास्कोटाले भनिन्।
सरकारले सबै सरकारी निकायबाट जारी हुने आधिकारिक सार्वजनिक सूचना, कानुन, निर्देशिका र निर्णयलाई एउटै डिजिटल प्रणालीमा समेट्ने व्यवस्था गर्नुपर्ने माग गरिन्।
‘सरकारसँग मेरो आग्रह छ कि सबै सरकारी निकायबाट जारी हुने आधिकारिक सार्वजनिक सूचना एउटै डिजिटल प्लेटफर्ममार्फत एकै ठाउँमा, वास्तविक समयमा प्रत्येक नागरिकको पहुँचमा पुग्नेगरी एकीकृत डिजिटल सूचना पोर्टल विकास गरी प्रभावकारी कार्यान्वयन गरियोस्,’ उनले भनिन्।
उनले सूचनामा समान पहुँच सुनिश्चित गर्नु केवल प्रविधिसँग सम्बन्धित विषय नभई सुशासन, पारदर्शिता, जवाफदेहिता र नागरिकको सूचनाको अधिकारको प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको विषय भएको पनि उल्लेख गरिन्।
‘सूचनामा समान पहुँच सुनिश्चित गर्नु केवल प्रविधिको विषय होइन, यो सुशासन, पारदर्शिता, जवाफदेहिता र नागरिकको सूचनाको अधिकारको प्रभावकारी कार्यान्वयनसँग जोडिएको विषय हो,’ उनले भनिन्।
