`

३२ जना बिचौलिया पक्राउ

Nepal One HD २५ असार २०८३ १२:५५
अपराध

काठमाडौं। सार्वजनिक सवारी साधनका यात्रुलाई हैरानी दिएको आरोपमा प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट ३२ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ।

यात्रुलाई गाडीमा सिट मिलाइदिने बहानामा अनावश्यक हस्तक्षेप गर्ने, झोला तान्ने तथा दुर्व्यवहार गरेको गुनासोपछि उनीहरूलाई पक्राउ गरिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बिहीबार बिहान जडीबुटी क्षेत्रमा विशेष निगरानी सञ्चालन गरी ३२ जनालाई नियन्त्रणमा लिइएको हो। कार्यालयका एसएसपी सन्तोष खड्काले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिए।

जडीबुटी क्षेत्रमा अरनिको यातायातद्वारा रामेछाप, दोलखा र सिन्धुपाल्चोकतर्फ सञ्चालन हुने बसहरूको बसपार्क रहेको छ। त्यही स्थानबाट तराई तथा पूर्वी जिल्लातर्फ जाने साना सवारी साधनसमेत छुट्ने भएकाले यात्रुको चाप धेरै हुने गर्छ। यही अवस्थाको फाइदा उठाउँदै केही व्यक्तिले यात्रुलाई जबर्जस्ती गाडीमा चढाउन खोज्ने, सिट मिलाइदिने भन्दै झोला तान्ने तथा विशेषगरी महिला यात्रुप्रति अशोभनीय व्यवहार गर्ने गरेको गुनासो प्रहरीमा पुगेको थियो।

एसएसपी खड्काका अनुसार पक्राउ परेका व्यक्तिहरूको विवरण प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) मार्फत जाँच गरी उनीहरूको आपराधिक पृष्ठभूमिसमेत अध्ययन गरिनेछ। त्यसपछि प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनले बताए।

यसअघि पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक यातायात क्षेत्रमा सक्रिय बिचौलियाविरुद्ध अभियान सञ्चालन गरेको थियो। सोही क्रममा बुधबार बल्खु क्षेत्रबाट १७ जना बिचौलियालाई पक्राउ गरिएको थियो। उनीहरूमाथिको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले यात्रुलाई अनावश्यक दुःख दिने, जबर्जस्ती सवारी साधनमा तान्ने वा कुनै प्रकारको दुर्व्यवहार गर्ने गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ। साथै, यस्ता घटना भएमा तत्काल प्रहरीलाई जानकारी गराउन पनि यात्रुसँग आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *