गृहमन्त्रीको सचिवालयप्रति रास्वपा सांसदकै असन्तुष्टि
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अफ्साना बानुले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विशेषगरी गृह मन्त्रालयको सचिवालयको भूमिकामाथि प्रश्न उठाएकी छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले नागरिकका गुनासा सुन्ने र समयमै सम्बोधन गर्ने दायित्व सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताइन्।
सांसद बानुले शान्ति सुरक्षा र नागरिकको सुरक्षासँग प्रत्यक्ष जोडिएको गृह मन्त्रालयमा समस्या लिएर पुग्ने सर्वसाधारणले अपेक्षित प्रतिक्रिया नपाइरहेको गुनासो बढ्दै गएको उल्लेख गरिन्। उनले गृहमन्त्री सुधन गुरुङको सचिवालयले नागरिकसँगको सम्पर्क र समन्वयलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइन्।
उनले भनिन्, ‘जनता वा मुलुकको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी लिएको गृह मन्त्रालयसँग आफ्नो समस्या पोख्न सम्पर्क गर्दा, गृहमन्त्रीज्यूको स्वकीय सचिवले कुनै प्रतिक्रिया नदिने तथा फोन नउठाउने जस्ता गुनासाहरू तारन्तार निरन्तर आइरहेका छन्। जनताको समस्या सुन्नु सरकारको प्रथम जिम्मेवारी हो।’
सांसद बानुले नागरिकले समस्या पर्दा सम्बन्धित मन्त्रालय वा सरकारी निकायबाट जिम्मेवार व्यवहारको अपेक्षा गर्ने भएकाले सेवा प्रवाहलाई थप उत्तरदायी बनाउन सरकार गम्भीर हुनुपर्ने बताइन्। जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने निकायले प्रभावकारी सञ्चार र सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिइन्।
यसै क्रममा उनले जेन–जी आन्दोलनसँग सम्बन्धित विषयमा संवाद र सहकार्यको पहल गरेको भन्दै रास्वपाका सभापति रवि लामिछानेको प्रशंसा गरिन्। आन्दोलनका विषयमा समाधान खोज्ने प्रयासले सकारात्मक सन्देश दिएको उनको भनाइ थियो।
उनले भनिन्, ‘उहाँको काम प्रशंसायोग्य छ। त्यसले युवाहरूमा राज्यप्रतिको भरोसा जगाउने काम गरेको छ।’
सांसद बानुले युवाका आवाजलाई सम्बोधन गर्न सरकार र राजनीतिक नेतृत्वले संवाद, सहकार्य र उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने आवश्यकता पनि औँल्याइन्।
