मजदुरीको पैसा विवादमा हत्या : एकै परिवारका तीन जना पक्राउ
काठमाडौं। खोटाङमा मजदुरीको पारिश्रमिकलाई लिएर भएको विवाद हिंसात्मक बन्दा एक जनाको ज्यान गएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको बिहीबार खुकुरी प्रहारबाट मृत्यु भएको थियो। घटनामा स्थानीय ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी ५२ वर्षीया श्रीमती भोटीमाया सार्की र २२ वर्षीया छोरी सीता सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार मुख्य आरोपित तीलकबहादुरलाई घटनालगत्तै पक्राउ गरिएको थियो। त्यसपछि मृतकका आफन्तले उनकी श्रीमती र छोरीविरुद्ध पनि किटानी जाहेरी दिएपछि उनीहरूलाई शुक्रबार अनुसन्धानका लागि पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानबाट ध्रुव अधिकारी तीलकबहादुरको घरमा आफूले गरेको मजदुरीको पारिश्रमिक लिन पुगेका बेला दुवै पक्षबीच भनाभन भएको खुलेको प्रहरीले जनाएको छ। विवाद चर्किएपछि तीलकबहादुरले खुकुरी प्रहार गरेका थिए, जसका कारण अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो।
घटनापछि तीलकबहादुर आफैंले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएको प्रहरीले जनाएको छ। प्रहरी घटनास्थल पुगेर उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले घटनामा आर्थिक लेनदेन र व्यक्तिगत विवाद दुवै पक्षको भूमिका रहेको हुन सक्ने अनुमान गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।
शव परीक्षण सम्पन्न भएपछि ध्रुव अधिकारीको शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण र अन्य संलग्नताको विषयमा थप अनुसन्धान जारी रहेको छ।
