वकिल बमसहित २४ जना पक्राउ
काठमाडौं। वकिल बमसहित २४ जनालाई जुवा खेलिरहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई सोमबार (असार २९) काठमाडौंको तीनपिप्लेस्थित एक रिसोर्टमा कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो। विशेष सूचनाका आधारमा प्रहरी वृत्त बालाजुको टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद ९ लाख ८० हजार २८५ रुपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार घटनास्थलबाट जुवामा प्रयोग भएका सामग्रीसमेत बरामद गरिएको छ।
पक्राउ परेका सबैलाई प्रहरी वृत्त बालाजुमा राखेर जुवा तथा सट्टेबाजीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका वकिल बम यसअघि पनि विभिन्न आपराधिक आरोप तथा कसुरका घटनामा पटक–पटक पक्राउ परेर कानुनी प्रक्रियामा परेका व्यक्ति हुन्। यस घटनामा पनि उनीसहित अन्य पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
