डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
काठमाडौं। राष्ट्रिय पुरस्कारबाट सम्मानित साहित्यकार, लेखक तथा गीतकार डा. रुद्रनाथ अधिकारीको नयाँ गीत ‘या लिएर आउ’ सार्वजनिक भएको छ। डा. अधिकारीकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गीतमा गायक निशान भट्टराईको स्वर रहेको छ।
राजदरबारको कथावस्तुमा आधारित यस गीतले प्रेम, विरह, समर्पण, त्याग तथा मानवीय संवेदनालाई साहित्यिक गहिराइका साथ प्रस्तुत गरेको छ। प्रभावशाली शब्द, भावपूर्ण प्रस्तुति र जीवन्त अभिनयले गीतलाई थप आकर्षक बनाएको छ। गीतका शब्द तथा रचना डा. रुद्रनाथ अधिकारीकै हुन् भने संगीत एआर रिमेश थापाका हुन् । बिक्रम बुढाथोकी, दिनेश विष्ट, बिना राउत र संगीता शाहीको अभिनय रहेको भिडियो फिल्मी शैलीमा निर्माण गरिएको छ ।
भिडियोको निर्देशन दिनेश विष्टले गरेका हुन् । जसमा मिन रावलको कलर, दीपक देउवाको सम्पादन तथा सलिनाराज भण्डारीको कोरियोग्राफी रहेको छ । सार्ववजनिक गीतका गीतकार डा अधिकारी नेपाली साहित्य, संस्कृति र गीत–संगीतको क्षेत्रमा निरन्तर सक्रिय व्यक्तित्व हुन् । उनका थुप्रै साहित्यिक कृति तथा गीतहरू प्रकाशित भइसकेका छन्। समाज, संस्कृति, इतिहास र मानवीय जीवनका विविध आयामलाई समेट्ने उहाँका सिर्जनाले पाठक तथा श्रोतामाझ छुट्टै पहिचान बनाएका छन्।
हालै सम्पन्न राष्ट्रिय समावेशी म्युजिक अवार्ड निम अवार्ड २०२६ मा डा. अधिकारीद्वारा रचित ‘आमा’ गीतका लागि उहाँ वर्षको सर्वोत्कृष्ट गीतकार (पुरुष, सुगम संगीत) सम्मानबाट सम्मानित भएका थिए । उक्त उपलब्धिले उनको सिर्जनात्मक योगदानलाई राष्ट्रिय स्तरमा थप स्थापित गरेको छ। गीत सार्वजनिक भएपछि डा. अधिकारीले आफ्नो साहित्यिक यात्रा अझ सशक्त रूपमा निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले राठे (लोक) गीत, प्रेमिल गीत, चेतनामूलक गीत, सामाजिक सन्देश बोकेका गीत तथा साहित्यका विविध विधामार्फत समाजलाई सकारात्मक दिशा दिने र नेपाली भाषा, साहित्य तथा मौलिक संस्कृतिको संरक्षणमा आफ्नो कलमलाई निरन्तर समर्पित गर्ने प्रतिबद्धता पनि व्यक्त व्यक्त गरेका छन् । ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’, ‘मदहोस’, ‘आमा’, ‘अब अत्ति भइसक्यो जागौँ’लगायत उनका दर्जन बढी गीत श्रोतारदर्शकमाझ आएका छन् । जीवनका विभिन्न भोगाइ र नियतिले परिपूर्ण रहेका उत्कृष्ट रचनाहरूसँग रम्न रुचाउने प्रकृतिप्रेमी डाक्टर अधिकारी धार्मिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा पनि राम्रो दखल राख्छन् ।
