बैङ्ककको बारमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी
एजेन्सी। थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा ३० जनाको ज्यान गएपछि उक्त घटनास्थलमा आधारभूत सुरक्षा प्रणाली नै नभएको प्रारम्भिक निरीक्षणबाट खुलेको छ।
भवन निरीक्षक सङ्घका पूर्वअध्यक्ष वासावत कित्सिरितीराफाकले फरेन्सिक प्रहरीसँग मिलेर आगलागी भएको ‘रोङ बियर ना लात फ्राओ’ रेस्टुरेन्ट तथा बारको निरीक्षणपछि त्यहाँ ठूलो भीड र प्रत्यक्ष सांगीतिक कार्यक्रम सञ्चालन भइरहे पनि आवश्यक सुरक्षा व्यवस्था नभएको बताएका हुन्।
उनका अनुसार आगो लागेपछि सुरक्षित रूपमा बाहिर निस्कन मिल्ने आपतकालीन निकास मार्ग, चेतावनी प्रणाली तथा आपतकालीन तयारीका आधारभूत व्यवस्था भएको भए मानवीय क्षति उल्लेखनीय रूपमा कम हुन सक्थ्यो।
प्रारम्भिक निरीक्षणमा आपतकालीन निकास संकेत, आपतकालीन बत्ती तथा फायर अलार्मजस्ता अत्यावश्यक सुरक्षा उपकरण फेला नपरेको उनले जानकारी दिए। यद्यपि घटनाको विस्तृत कारण र सुरक्षा अवस्थाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको उनले बताए।
थाइल्यान्डमा विशेषगरी बार, पब र नाइटक्लबजस्ता मनोरञ्जनस्थलमा सुरक्षा मापदण्ड प्रभावकारी रूपमा लागू नभएको विषय लामो समयदेखि आलोचनाको केन्द्रमा रहँदै आएको छ। यसअघि सन् २००९ मा बैङ्ककको ‘सान्तिका’ क्लबमा नयाँ वर्षको कार्यक्रममा भएको आगलागीमा ६७ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए। त्यसैगरी सन् २०२२ मा चोनबुरी प्रान्तको ‘माउन्टेन बी’ नाइटक्लबमा लागेको आगलागीमा २५ जनाले ज्यान गुमाएका थिए।
यसपटकको घटनामा आफ्नी भतिजी गुमाएकी जितिया फाइक्लाउले यस्ता दुर्घटना पटक–पटक दोहोरिनु अत्यन्त दुःखद भएको बताउँदै विगतका घटनाबाट पर्याप्त पाठ नसिकिएको प्रतिक्रिया दिइन्।
निरीक्षणका क्रममा आगलागी भएको प्रतिष्ठानसँग रेस्टुरेन्ट सञ्चालनको अनुमति मात्र रहेको तर व्यवहारमा भने प्रत्यक्ष सांगीतिक कार्यक्रम, मदिरा बिक्री र नाचगानसहित मनोरञ्जनस्थलका रूपमा सञ्चालन भइरहेको पाइएको छ।
गृह मन्त्रालयका अधिकारी आन्सित सम्फान्तारातले कुनै प्रतिष्ठानले मनोरञ्जनस्थलका गतिविधि सञ्चालन गर्ने तर त्यसअनुसार कानुनी दर्ता नगर्ने कार्य नियमविपरीत भएको बताए।
यता बैङ्ककका गभर्नर चाडचार्ट सिट्टीपुन्टले यस्ता प्रतिष्ठानमाथिको अनुगमन कडा बनाइने र सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन्। उनले भवनको वर्गीकरण, जोनिङ व्यवस्था तथा मनोरञ्जनस्थलसम्बन्धी कानुनी प्रावधानमा समेत सुधार आवश्यक रहेको बताए।
भवन सुरक्षा विज्ञ वासावतले भविष्यमा यस्ता मानवीय क्षति दोहोरिन नदिन देशभर भवन सुरक्षा निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउँदै कानुनको कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
