`

राष्ट्र बैंकले १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

Nepal One HD ३१ असार २०८३ १२:३७
अर्थ समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता (अतिरिक्त नगद) व्यवस्थापन गर्न १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट तान्न लागेको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार आज असार ३१ गते ९१ दिन अवधिको निक्षेप संकलन उपकरणका लागि बोलकबोल (अक्सन) आह्वान गरिएको छ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यस निक्षेप संकलन उपकरणको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले फरक–फरक ब्याजदरमा समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार संकलित निक्षेपको साँवा र ब्याज आगामी असोज २८ गते एकमुष्ट भुक्तानी गरिनेछ।

बोलकबोलमा सहभागी हुने संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। त्यसपछि ५ करोड रुपैयाँका गुणकमा कुल आह्वान गरिएको रकमसम्म आवेदन पेश गर्न सकिने व्यवस्था छ।

निक्षेप बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ। समान ब्याजदरमा माग गरिएको रकम उपलब्ध परिमाणभन्दा बढी भएमा ‘प्रो–राटा’ प्रणालीमार्फत बाँडफाँड गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

राष्ट्र बैंकले यस निक्षेप संकलन उपकरणमा लगानी गरिएको रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने जनाएको छ। तर, वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपात कायम गर्न भने उक्त रकम गणना गर्न सकिनेछ।

यस उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने सुविधा पनि दिइएको छ। यद्यपि, तोकिएको अवधि समाप्त हुनुअघि निक्षेप फिर्ता लिन वा अग्रिम भुक्तानीको सुविधा भने उपलब्ध नहुने राष्ट्र बैंकले जनाएको छ।

बैंकिङ प्रणालीमा पछिल्लो समय अधिक तरलता कायम रहँदै आएको अवस्थामा बजारमा रहेको अतिरिक्त रकम व्यवस्थापन गरी मौद्रिक नीति प्रभावकारी बनाउन राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *