ड्युटीमा फर्किए महानगर प्रहरी
काठमाडौं। काठमाडौं उपत्यकामा नगर प्रहरीको उपस्थिति कमजोर भएको, जथाभावी पार्किङ र फुटपाथ व्यापार बढ्दै गएको गुनासो बढिरहेका बेला काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई पुनः पूर्ण रूपमा फिल्डमा परिचालन गरेको छ।
महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुप्रसाद जोशीका अनुसार रिजर्भ फोर्सबाहेकका सबै नगर प्रहरीलाई नियमित रूपमा सडकमा खटाइएको छ। उनले न्युरोडलगायतका मुख्य व्यापारिक तथा व्यस्त क्षेत्रमा नगर प्रहरी नियमित ड्युटीमा रहेको जानकारी दिए।
पछिल्लो समय त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकलमा ह्विललक लगाएको घटनापछि उत्पन्न विवादका क्रममा गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएपछि केही दिन नगर प्रहरीको सडक उपस्थितिमाथि प्रश्न उठेको थियो। त्यस अवधिमा जथाभावी पार्किङ, फुटपाथ अतिक्रमण र अव्यवस्थित व्यापार बढेको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका थिए।
महानगरले अहिले सडक व्यवस्थापन, सार्वजनिक स्थानको संरक्षण तथा फुटपाथ अतिक्रमण नियन्त्रणका लागि नगर प्रहरीलाई पुनः सक्रिय रूपमा परिचालन गरिएको जनाएको छ। मुख्य बजार क्षेत्र र भीडभाड हुने स्थानमा निगरानी तथा कारबाहीलाई नियमित बनाइएको पनि महानगरले जनाएको छ।
यस्तै, मनसुन सक्रिय भएसँगै बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै नगर प्रहरीलाई उद्धार तथा आपत्कालीन व्यवस्थापनका लागि पनि तयारी अवस्थामा राखिएको महानगरले जनाएको छ।
रिजर्भ टोलीलाई सम्भावित विपद्का बेला तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ।
तस्वीरहरू:






