`

मोटरसाइकलमा शव बोकेर भाग्दै गरेका भारतीय नागरिक पक्राउ

Nepal One HD ३२ असार २०८३ १३:०६
अपराध

काठमाडौं। सप्तरीमा १४ वर्षीय किशोरको शव मोटरसाइकलमा राखेर भाग्दै गरेका एक भारतीय नागरिक पक्राउ परेका छन्। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार छन्।

दुर्घटनापछि शव लुकाउने प्रयास भएको हो वा योजनाबद्ध हत्या, भन्ने विषयमा प्रहरीले गहन अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजार क्षेत्रमा १४ वर्षीय मोहम्मद सादिकको मृत्यु भएपछि उनको शव मोटरसाइकलमा राखेर घटनास्थलबाट भाग्ने प्रयास गरिएको थियो। मृतक शम्भुनाथ–५ मोहनपुर निवासी मोहम्मद सदामाका एक्ला छोरा हुन्।

प्रहरीका अनुसार बीआर–३२ बी–९७६४ नम्बरको भारतीय अपाचे मोटरसाइकलमा दुई जना सवार थिए। प्रहरी चौकी बिसनपुरबाट प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा खटिएको टोलीले शंकास्पद गतिविधि देखेपछि मोटरसाइकल पछ्याएको थियो।

भाग्ने क्रममा उनीहरूले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर टाढा खडक नगरपालिका–१ स्थित दिनाभद्री थान क्षेत्रनजिक शव फालेर फरार हुन खोजेका थिए। स्थानीयवासीको सहयोगमा भारतको मधुवनी जिल्ला, खतौनी पिपराही निवासी २८ वर्षीय मो. सादर नटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनका अर्का साथी भने फरार छन् र खोजी भइरहेको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका नट बोदेबरसाईन नगरपालिका–५ स्थित सोनु मिट हाउसमा काम गर्ने मजदुर हुन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार घटना सामान्य सडक दुर्घटना हो वा हत्या गरेर शव लुकाउने प्रयास गरिएको हो भन्ने विषयमा सबै पक्षबाट अनुसन्धान भइरहेको छ। पोस्टमार्टम रिपोर्ट, घटनास्थलको प्रमाण र फरार व्यक्तिको बयानपछि मात्रै घटनाको वास्तविकता स्पष्ट हुने उनले बताए।

घटनापछि स्थानीयवासी र मृतकका आफन्त आक्रोशित बनेका थिए। बिहीबार बिहान उनीहरूले पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका–६ कठौनामा करिब ३० मिनेट सडक अवरुद्ध गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका थिए।

प्रहरीले फरार व्यक्तिको खोजी तीव्र बनाएको जनाएको छ भने घटनाको प्रकृति र मृत्युको वास्तविक कारणबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *