एक महिलासहित तीन जनाको शव फेला
काठमाडौं । प्युठान र नवलपरासी पूर्वका छुट्टाछुट्टै स्थानमा एक महिलासहित तीन जना मृत अवस्थामा फेला परेका छन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार प्युठानको स्वर्गद्वारी नगरपालिका–८ पल्नोदमार निवासी ७० वर्षीय शोपबहादुर सुनार बिहीबार सोही क्षेत्रको टेकनटार चौरमा मृत अवस्थामा फेला परेका हुन्। उनको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
यस्तै, नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–२ बोटेटोल नजिक नारायणी नदीको तटबन्धनमाथिको गोरेटो बाटोमा अन्दाजी ४० वर्षीय एक पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्। उनको नाम, थर र ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
त्यसैगरी, कावासोती नगरपालिका–१७ अमल्टारीस्थित गुन्द्रही ढकाहा सामुदायिक वनमा बुधबार फेला परेको वृद्धाको शव चितवनको भरतपुर महानगरपालिका–९ निवासी ७२ वर्षीया सुकमाया दराईको रहेको पुष्टि भएको छ।
प्रहरीले तीनै घटनाको मृत्युको कारण खुलाउन घटनास्थलको मुचुल्का, पोस्टमार्टम तथा अन्य प्रमाणका आधारमा अनुसन्धान जारी रहेको जनाएको छ।
