विमानस्थल अनुगमनमा कर्मचारीलाई रास्वपा सांसद जगदीश खरेलले थर्काएपछि…
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेल र आइएमएस सर्भिसेजकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) चारू श्रेष्ठबीच भएको भनाभनको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।
विमानस्थलको प्रतीक्षालयमा यात्रुका आफन्तसँग ५० र १०० रुपैयाँ प्रवेश शुल्क असुलिएको विषयमा अनुगमनका क्रममा सांसद खरेलले कम्पनीसँग भएको सम्झौतासम्बन्धी कागजात मागेका थिए। उनले शुल्क उठाउने कानुनी आधार र सम्झौताको विवरणबारे जानकारी लिन खोजेका थिए।
जवाफमा सिइओ श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयसँग भएको सम्झौताअनुसार कम्पनीले सेवा सञ्चालन गरिरहेको बताउँदै आवश्यक कागजात सम्बन्धित सरकारी निकायमार्फत माग्नुपर्ने धारणा राखेकी थिइन्। उनले कम्पनीले एकल रूपमा ती कागजात उपलब्ध गराउन नमिल्ने स्पष्ट पारेकी थिइन्।
कागजात तत्काल उपलब्ध नगराइएपछि सांसद खरेल आक्रोशित बनेका थिए। घटनापछि उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आफू कागजात नदेखाइएकाले असन्तुष्ट भएको स्वीकार गरे। साथै यात्रुका आफन्तबाट प्रतीक्षालयमा प्रवेश शुल्क उठाउने व्यवस्था नै अनुचित भएको उनको भनाइ थियो।
यता सिइओ श्रेष्ठले भने सांसदहरू अचानक आफ्नो कार्यकक्षमा आएर आक्रोशित शैलीमा प्रस्तुत हुँदा आफू अचम्ममा परेको प्रतिक्रिया दिएकी छन्। उनका अनुसार कम्पनीले सम्झौताअनुसार सेवा सञ्चालन गरिरहेको र आवश्यक कागजात सम्बन्धित निकायबाटै उपलब्ध गराउनुपर्ने प्रक्रिया रहेको छ।
यस घटनापछि सामाजिक सञ्जालमा सांसदको व्यवहार र निजी सेवा प्रदायक कम्पनीको भूमिकालाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले सार्वजनिक सेवा र शुल्क व्यवस्थापनबारे सांसदले प्रश्न उठाउनु उचित भएको बताएका छन् भने केहीले अनुगमनका क्रममा मर्यादित व्यवहार आवश्यक हुने टिप्पणी गरेका छन्।
उक्त विषयमा संघीय संसद्को अर्थ समितिले तयार पारिएको अनुगमन प्रतिवेदनमाथि छलफल गर्न बाँकी रहेको छ।
समितिको छलफलपछि विमानस्थलको प्रतीक्षालय शुल्क, सेवा सञ्चालनको कानुनी आधार तथा सम्बन्धित सम्झौताबारे थप निष्कर्ष आउने अपेक्षा गरिएको छ।
