`

प्रत्येक १० मिनेटमा ध्रुवे हात्तीको गतिविधि निगरानी

Nepal One HD १ साउन २०८३ १८:५६
समाचार

चितवन । २५ जनाको ज्यान लिएको जंगली हात्ती ‘ध्रुवे’लाई नियन्त्रणमा लिएर दाह्रा काटिएपछि अब उसको गतिविधिमाथि कडा निगरानी सुरु गरिएको छ। हात्तीमा रेडियो कलर जडान गरिएकाले हरेक १० मिनेटमा उसको अवस्थाबारे जानकारी प्राप्त भइरहेको छ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार बिहीबार राति सुखिभार क्षेत्रमा डार्ट गरेर ध्रुवे हात्तीमा रेडियो कलर जडान गर्नुका साथै दुवै दाह्रा करिब ६ इन्च काटिएको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले शुक्रबार बिहान ध्रुवे कसराको दक्षिणतर्फ तमोर ताल आसपासमा रहेको जानकारी प्राप्त भएको बताए।

उनका अनुसार रेडियो कलरबाट प्रत्येक १०–१० मिनेटमा हात्तीको अवस्थाबारे सूचना आइरहेको छ। डार्ट गरेपछि हात्तीलाई हर्मोन नियन्त्रण गर्ने औषधिसमेत प्रयोग गरिएको छ। ध्रुवेको दाह्रा काट्ने र रेडियो कलर जडान गर्ने काम चौथोपटक गरिएको पनि उनले बताए।

ध्रुवे बस्तीमा प्रवेश गरेको सूचना प्राप्त भएलगत्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय र स्थानीय बासिन्दालाई खबर गर्ने तथा निकुञ्जको सुरक्षा टोलीलाई परिचालन गरेर हात्तीलाई जंगलतर्फ फर्काउने तयारी गरिएको निकुञ्जले जनाएको छ।गत असार २० गते राति ध्रुवेले एकै परिवारका दुई जनाको ज्यान लिएको थियो। निकुञ्जका अनुसार हालसम्म यस हात्तीको आक्रमणबाट २५ जनाको मृत्यु भइसकेको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले यस्ता घटना पुनः दोहोरिन नदिन उच्च सतर्कता अपनाइएको बताए।ध्रुवे हात्तीले २०७४ सालमा नेपाली सेनाका एक मेजरको पनि आक्रमण गरी हत्या गरेको थियो। चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मानिसको ज्यान लिने हात्तीका रूपमा चिनिने ध्रुवेले २०६८/६९ सालतिर लगातार आक्रमण गर्न थालेपछि २०६९ पुस १ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले हात्तीलाई मार्ने निर्णय गरेको थियो। तर, सेनाले चलाएको गोलीबाट बच्दै आएको यो हात्ती अझै जीवित छ।

विशेषगरी २०६९ सालको कात्तिकदेखि एक महिनाभित्र माडी क्षेत्रमा मात्रै चार जनाको ज्यान लिएपछि ध्रुवेलाई मार्ने निर्णय गरिएको थियो। २०६६ माघदेखि मानिसमाथि आक्रमण गर्न थालेको ध्रुवेले २०६९ सालसम्म मात्रै १५ जनाको ज्यान लिएको थियो।

चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवेसहित रोनाल्डो र गोविन्दे नामले चिनिने जंगली भाले हात्ती छन्। निकुञ्जका पोथी हात्तीहरूको प्रजनन यिनै भाले हात्तीबाट हुने गरेको छ। प्रमुख संरक्षण अधिकृत पुर्जा पुनका अनुसार निकुञ्जभित्र हाल ४५ देखि ५० वटा जंगली हात्ती रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *